मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल एसिसी मेन्स सोह्र वर्षभन्दा मुनीको इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै साविक विजेता नेपालले फाइनलमा स्थान बनाएको हो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा परिमार्जन यादवले अविजित ५९ रनको योगदान दिए । शिवान्श बजगाईंले २३ र प्रसिद्ध जैसीले २ रन बनाए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन बनायो ।

मलेसियाका मोहम्मद फतुलले सर्वाधिक ३८ र कप्तान डिज पार्तोले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए ।
अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इस्ट जोन कपको फाइनल खेल शनिबार हुनेछ । गत संस्करणको फाइनलमा नेपालले मलेसियालाई २ सय २१ रनले हराएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
