अर्थ

बढ्दै छ हुन्डी कारोबारको संसार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मधेस प्रदेशको पर्सा, रौतहट र सर्लाहीमा मौलाएको हुन्डी कारोबार नियन्त्रण प्रहरीका लागि चुनौती बनेको छ। यी जिल्लामा सधैँ हुन्डीको पैसासहित मानिस पक्राउ परे पनि कारोबार रोकिएको छैन।  

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पर्सामा मात्र ४ जना हुन्डी कारोबारी पक्राउ परेका छन्। यो अवधिमा हुन्डीको ३१ लाख ७४ हजार रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न एक जना पक्राउ गरेको थियो। त्यस अवधिमा हुन्डीको ४२ लाख रुपैयाँ बरामद भएको थियो।  

बिज्ञापन

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रौतहट प्रहरीले ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको जनाएको छ। यो अवधिमा ११ लाख ५१ हजार ८४० रुपैयाँ बरामद गरिएको छ। गत आर्थिक वर्षमा रौतहट प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो। त्यस अवधिमा ३० लाख ६५ हजार ६६० रुपैयाँ बरामद भएको थियो।  

सर्लाही प्रहरीले गत आर्थिक वर्षमा ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको थियो। त्यस अवधिमा ४१ लाख ८५ हजार ९७० रुपैयाँ बरामद भएको थियो भने चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सर्लाही प्रहरीले २ जनालाई पक्राउ गरेको छ। 

उनीहरूको साथबाट १० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीको हुन्डी कारोबार नियन्त्रण प्रयासमा संगठित कारोबार चुनौती बनेको छ। २६ लाखभन्दा बढी रकमसहित बिहीबार रौतहट र सर्लाहीबाट दुई जना पक्राउ परेका छन्।  

सर्लाही प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका ८ सीमाइलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सर्लाहीको मलंगवा-२ का ३६ वर्षिय इन्द्रजीत प्रसाद साहलाई पक्राउ गरेको जनाएको छ। भारतबाट बीआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको साहलाई सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा र भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।  

यस्तै, रौतहटको गैर नगरपालिका २ सीमाइ नाकाबाट ९ लाख २८ हजार ५०० नेपाली रुपैयाँ र २ लाख १५ हजार ५० भारतीय रुपैयाँसहित सर्लाहीको रामनगर गाउँपालिका २ खैर्वाका ३० वर्षिय चन्दन पण्डितलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। हुन्डी कारोबारलाई नियन्त्रण र निगरानी गर्न सबै निकाय सक्रिय रहे पनि नेपाल र भारत दुवैतिरबाट अवैध रूपमा हुन्डी कारोबार भइरहेको पाइएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।