राजनीति

रञ्जिताले सोधिन् संसदीय दलका नेता चौधरीलाई स्पष्टीकरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नागरिक उन्मुक्ति पार्टीमा रेशमलाल चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्षबाट हटाइएकी रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छिन् । 

श्रेष्ठले पार्टी अध्यक्षको हैसियतले स्पष्टीकरण सोध्दै विधानविपरीत काम गरेको आरोपमा नेता चौधरीलाई २४ घण्टाभित्र जवाफ दिन भनेकी छिन् ।

बिज्ञापन

नेता चौधरीले पार्टीको विधानभन्दा बाहिर गएर गैरकानुनी निर्णयहरू गरेको आरोप रञ्जिताले लगाएकी छिन् । उनले तीनवटा विषय उल्लेख गरेर स्पष्टीरण सोधेकी हुन् । पहिलो आरोप दलको नेताको अधिकारभन्दा बाहिर गई संसदीय दलको बैठक राखेर केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने निर्णय गरेको भन्ने छ । 

पार्टीको विधानले केन्द्रीय समितिको बैठक बोलाउने अधिकार अध्यक्षलाई भए पनि संसदीय दलको नेताको हैसियतमा रहेको व्यक्तिले पार्टी विधानले परिकल्पना नै नगरेको अधिकार प्रयोग गरी दलको बैठकबाट साउन ९ र १० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको किन गरेको भनेर श्रेष्ठले नेता चौधरीलाई सोधेकी छिन् ।

गत ३ साउनमा बसेको संसदीय दलको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । ‘प्रचलित कानुन एवं पार्टीको विधानविपरीत अनधिकृत रूपमा निर्णय गरी केन्द्रीय समिति बैठक बोलाएको उपर तपाईंलाई किन कारबाही नगर्ने ?’ स्पष्टीकरणपत्रमा भनिएको छ ।

पार्टीको पहिलो महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता नदिएको अवस्थामा चौधरीले महासचिवका हैसियतमा कानुनविपरीत विभिन्न निर्णय गरेको आरोप पनि रञ्जिताले लगाएकी छन् । गंगाराम पार्टीको पहिलो महाधिवेशनबाट रेशमलाल चौधरीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिका महासचिव थिए । तर उक्त कमिटीलाई निर्वाचन आयोगले अद्यावधि गर्न अस्वीकार गरेको थियो ।

त्यस्तै, सार्वजनिक विज्ञप्तिमार्फत नागरिक उन्मुक्ति त्यागेर अर्को पार्टी प्रवेश गरेका योगेन्द्र तामाङ घिसिङलाई पार्टीको केन्द्रीय समिति बैठकमा बोलाएको र निर्णय प्रक्रियामा सहभागी गराएको आरोप रञ्जिताले लगाएकी छिन् । ‘नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधानविपरीत हुने कार्य गरेको हुँदा तपाईंलाई विधानबमोजिम किन कारबाही नगर्ने, २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहोला’ स्पष्टीकरण पत्रमा भनिएको छ । उनले स्पष्टीकरणको बोधार्थ निर्वाचन आयोगलाई पनि पठाएकी छिन् ।

रेशम पक्षको काठमाडौंमा जारी राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षसहित साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।