ऋण तिरीदिने र रोजगारीको ग्यारेन्टीपछि गाउँ फर्कियो हायु परिवार

पोखरा । गत साता सिन्धुलीको थातथलो छाडेर पोखरा आएको हायु परियार अन्ततः फर्किएको छ । स्थानीय जनप्रतिनिधिबाट रोजगारी र सुरक्षित आवासको आश्वासन पाएपछि उनीहरू गाउँ फर्किन तयार भएका हुन् ।
उनीहरूलाई सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरा–३० का वडाध्यक्ष दुर्गा सुवेदीले सम्मानसहित बिदाइ गरे । हायु परिवार लिन गोलञ्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ आफैं पोखरा आएका थिए । वडाध्यक्ष श्रेष्ठको जिम्मा लगाई ग२ख २२८७ नम्बरको पर्यटन बसमा सोमबार दिउँसो ३ बजे बिदाइ गरिएको हो ।

पोखरा आउँदा १६ जना रहेकामा आफन्तसमेत थपिएपछि २१ जना फर्किएका हुन् । परिवारका सदस्यमा आठ जना १६ वर्षमुनिका बालबालिका छन् । सिन्धुलीको गोलञ्जोर–६ बिखर कटेरी छेड्पाका ४५ वर्षीया उर्मिला हायुसहित परिवारका १६ जना सदस्यहरू गत साता एक्कासि बेपत्ता भएको खबरले सर्वत्र खोजी सुरु भएको थियो । ११ साउनदेखि हराएका उनीहरूलाई राज्यको सम्पूर्ण संयन्त्र लगाएर खोनबिन भएको थियो । सिन्धुलीबाट हिँडेको दुई दिनपछि पोखरा–३० गगनगौंडामा राति ९ बजे डेराकोठामा सकुशल फेला परेका थिए ।
प्रहरीसँगको सोधपुछमा परिवारका सदस्यहरू पटकपटक बिरामी हुन थालेपछि हायु परिवार कसैलाई पनि थाहा नदिई गाईबस्तु गोठमै छोडेर गाडी रिजर्भ गरी पोखरा आएको बताएका थिए ।
उनीहरूले आर्थिक, स्वास्थ्य र सुरक्षाका कारण घर छाडेको समेत बताएका थिए भने केही सदस्यले धामीले त्यहाँ नबस्न भनेपछि घर छाडेको बताएका थिए ।
पोखरा आएका उनीहरू सुरुमा एक रात लेकसाइड होटलको जननीमा बास बसे । भोलिपल्टदेखि गगनगांैडा बजारमा दुईवटा घरमा बाँडिएर डेराकोठामा बस्न थालेका थिए ।
अब पोखरामै रोजगारी गरी बस्ने निधो गरेको हायु परिवार गाउँ फर्किन मानेको थिएन । पुरानै घरमा भने नबस्ने अडानमा थियो ।
तर, उनीहरूमाथिको ऋण तिरिदिन पहल गर्ने आश्वासनसहित रोजगारी र सुरक्षित आवासको आश्वासन पाएपछि फर्किन राजी भएका हुन् । सिन्धुली जिल्लाबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका दुई जना सदस्यलाई रोजगारीको ग्यारेन्टी गरेका छन् भने वडाले हायु परिवारले लिएको ऋण तिर्नमा सहजीकरण गर्ने जनाएको छ । आफ्नै पुरानै घरमा नबस्ने अडान राखेकाले उनीहरूलाई केही समय पुरानै राख्ने र पछि स्वास्थ्य, आवास र रोजगारको व्यवस्था मिलाउने वडाध्यक्ष श्रेष्ठले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
