घटना

एउटै घरका दिदीभाइ मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खोटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिका– ३, छोरम्बुस्थित सापातेलका गोविन्द बस्नेतका दुई छोरी र एक छोरासहित ६ जना बालबालिका यही साउन २२ गते गाउँबाट हराएका थिए । सँगै हराएका चारजना बालबालिका सकुशल भेटिए । तर, गोविन्दका ११ वर्षीया छोरी मेनीषा र ६ वर्षीय छोरा मेगराज भने जंगलमा मृत भेटिए । 

गाउँबाट एकैसाथ हराएका ६ जना बालबालिकामध्ये गोविन्दको छोरी र छोरा मृत फेला परेको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘गोविन्द बस्नेत शान्ति निकेतन माध्यमिक विद्यालयका कार्यालय सहयोगी हुन् । श्रीमतीले अर्कै विवाह गरेपछि उहाँ दुई छोरी र एक छोरासहित घरमा बस्दै आउनुभएककाे थियो,’ उनले भने, ‘सधैँ छोराछोरीलाई आफूसँगै विद्यालय लिएर जाने गर्नुहुन्थ्यो । त्यो दिन घरमा डिसहोम जडान गरेकाले ढिला हुँदा छोराछोरीलाई आउँदै गर भनेर विद्यालय जानुभएको रहेछ । तर, छोराछोरी विद्यालय नगई डुल्न निस्किएछन् । विद्यालयबाट फर्किएपछि छोराछोरी घरमा नभएकाले खोज्दै जाँदा जंगलमा मृत भेटिएका हुन् ।’

बिज्ञापन

उनीहरू हलेसी तुवाचुङ नगरपालिका– ११, राजापानी र छोरम्बुको सिमानामा पर्ने साप्सुखोला तरेर थ्री स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ । घर फर्किँदा बाटो बिराएर उनीहरू सोही गाउँपालिकाको वडा नम्बर– २, डाँडागाउँस्थित खमारे भन्ने ठाउँमा पुगेका थिए । खमारेबाट एक व्यक्तिले बाटो चिनाइदिएपछि उनीहरू सापातेलतिर लागेका थिए । तर, घर नआएपछि खोज्दै जाँदा बुबा गोविन्दले आफ्ना दुई सन्तान जेठी छोरी र छोरालाई मृत भेटेका हुन् । 

बाटोमा बच्चाको चप्पल भेटिएपछि खोज्दै जाँदा स्थानीय खरुवाखोलामा जेठी छोरीको शव भेटिएको गोविन्दले जानकारी दिए । स्थानीयका अनुसार छोरीको भन्दा केही माथि छोराको पनि शव भेटिएको हो । त्यसपछि विद्यालयका प्रधानाध्यापकलगायत गाउँलेलाई गोविन्दले खबर गरेको स्थानीयले जानकारी दिएका छन् ।

गोविन्दकै माइली छोरीसहित चारजना बालबालिका भने घटनास्थलनजिकै बाटोमुनि रहेको ओढारमा सकुशल भेटिएका थिए । सँगै आइरहेका साथीहरू बेलुकीपख एक्कासि पछाडि नदेखिएपछि उनीहरू पनि खोज्दै फर्किएका थिए । तर, नभेटेपछि रात परेकाले आफूहरू अलपत्र परेर ओढारमा गएर वास बसेको बताएका छन् ।

साउन २२ गते राति करिब आठ बजे आफ्नै बुबाले मृत भेटेका दुई बालबालिकाको शवलाई रातभरि गाउँलेले त्यही रुँगेर बसेपछि शुक्रबार छोरम्बु लगेर दाहसंस्कार गरेका छन् । मृत भेटिएका दुई बालबालिकाको लडेर मृत्यु भएको प्रस्ट देखिएपछि प्रहरीलाई खबर नगरी अन्तिम संस्कार गरिएको गाउँलेले बताएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले घटनाबारे सुरुमा प्रहरीलाई जानकारी नगराइएको बताएका छन् । ‘छोरम्बुमा भएको घटनाबारे शव अन्त्येष्टि गरेपछि स्थानीयबाट प्रहरीमा जानकारी प्राप्त भयो । दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव अनिवार्य परीक्षण गरी कानुनी प्रक्रिया पूरा गरेर मात्रै अन्तिम संस्कार गर्नुपर्ने प्रावधान छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली खटाइएको छ । जिल्लाबाट खटाइएका टोली भर्खरै त्यहाँ पुगेर घटनास्थललाई सुरक्षित राखेका छन् ।’

मृतक बालबालिकाको शव गाडिएको अवस्थामा रहेकाले आइतबार उत्खनन गरेर परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारीसमेत रहेका निमित्त प्रमुख प्रहरी निरीक्षक मिश्रले जानकारी दिए । ज्यान गुमाएका मृतक दुई बालबालिकाको शव आफूखुसी अन्तिम संस्कार गरेपछि बुबा गोविन्दसहित छोरम्बुवासी अहिले समस्यामा परेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।