राजनीति

दुर्गा प्रसाईं ‘राजा’सँग नाखुस, राजसंस्थाको एजेन्डा त्याग्ने संकेत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । ‘दुर्गा प्रसाई अकबरे सुन हो । अकबरे सुन जहाँ लगेर घोट्दा पनि पहेलै आउँछ । तपाईंहरुको अगाडि अकबरे सुन छ । घोटेर पानी खानुस या कानमा लगाउनुस् । जे गरेर हुन्छ मलाई सदुपयोग गर्नुस्’, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो गुनगान गाउँदै आज एक पत्रकार सम्मेलनमा भने ।

जेलबाट छुटेपछि पहिलोपटक प्रसाईंले आफ्नै घरमा पत्रकार (युट्यूवर) हरु भेला गराएका थिए । उनको अभिव्यक्ति शैलीमा कुनै पनि परिवर्तन पाइएन । राजावादी दल राप्रपाविरुद्ध उनी खनिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदेखि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सम्मलाई तथानाम गाली गरे ।

बिज्ञापन

पूर्वराजा ज्ञानेन्द्रप्रति पनि असन्तुष्ट सुनिए प्रसाईँ । उनले अब राजसंस्थाको एजेन्डा त्यागिसकेको वा निकट भविष्यमा त्याग्न सक्ने स्पष्ट संकेत गरे । चैत १५ गतेको आन्दोलन राजावादीले भाँडेको उनको दावी थियो । आफू भने राजावादी नभएको प्रसाईंले बताए ।

‘म राजावादी होइन, राष्ट्रवादी हुँ,’ उनले दोहोर्याएर भने, ‘शरीरमा (राजाको) ट्याटु खोपेका राजावादीले चैत १५ को आन्दोलन बिगारेका हुन् । राजावादी, एमाले र माओवादीले मिलेर आन्दोलन भाँडे ।’

पूर्वराजासँग उनको अपेक्षा चाहिँ आफैं सडकमा नउत्रिएकोमा रहेछ ।

प्रसाईले भने, ‘रामचन्द्रले पनि सीता लिन जाँदा आफैं धनुकाँढ बोकेर जानुभएको हो । राजाको भूमिका कस्तो रहन्छ, त्यो उहाँको कुरा हो, मेरो कुरा होइन । राजा आइदिनुभयो भने उत्तम हो । आइदिनु भएन भने पनि उत्तमै मानेर जानुपर्छ ।’

परम्परागत राजावादीहरु ‘सरकार’ सम्वोधन गर्ने गरेको पूर्वराजा ज्ञानेन्द्रलाई प्रसाईंले ‘तपाईं’ र ‘उहाँ’ भनेर सम्वोधन गरेका थिए ।

प्रसाईंले नयाँ पार्टीको घोषणा पनि गरेका छन् । उनले आफ्नो पार्टी राजावादी नभएर राष्ट्रवादी हुने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।