नाडा अटो शो सुरु,‘उड्ने कार’ हेर्नेको घुइँचो

काठमाडौं : अत्याधुनिक प्रविधिलाई समेट्दै मंगलबारदेखि राजधानीमा नाडा अटो शो–२०२५ सुरु भएको छ । उक्त शोमा अवलोकनकर्ताको रुचिको केन्द्र बन्यो उड्ने कार अर्थात् ‘भर्टिकल फ्लाइङ ट्याक्सी’ स्टल र ह्युमोनोइड रोबोट ।
नेपालमा पहिलोपटक भित्र्याइएको उड्ने कारको चौतर्फी चर्चा चलेसँगै प्रदर्शन स्थलमा यसलाई हेर्ने अवलोकनकर्ताको निकै ठूलो भीड लाग्यो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको १७ औं नाडा अटो शोको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उड्ने कारको उदाहरण दिँदै संसारमा प्रविधिले अनौठो फड्को मारेको बताए ।

यस वर्षको अटो शोमा पहिलोपटक ह्युमोनोइड रोबोट र दक्षिण एसियामै पहिलोपटक उड्ने कार अर्थात् ‘भर्टिकल फ्लाइङ ट्याक्सी’ले नयाँ आकर्षण थपेको छ । ह्युमोनोइड रोबोटसँग अवलोकनकर्ताहरू रमेको देखिन्छ । भदौ ८ सम्म चल्ने यो मेलामा ‘मेड इन नेपाल’ पविलियनमार्फत टायर, ब्याट्री, लुब्रिकेन्ट्स जस्ता स्वदेशमै उत्पादित पार्टपुर्जालाई समेत प्रोत्साहन गरिएको छ ।
दिपल ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प प्रालिले नेपालमा पहिलोपटक उड्ने कारलाई प्रदर्शनीमा राखेको हो तर यो बिक्री गर्न भने होइन । नीतिगत व्यवस्था नभएकाले यसलाई बिक्री गर्न पाइँदैन । भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलकस्वरूप दिपल ईभीटीओएल यूएभी नामक उड्ने कार शोमा राखिएको बारेमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा यसका लागि राख्ने स्थान नभएको र नीतिगत व्यवस्था नभएकाले अनुमति पनि नभएको बताए । ‘उड्ने कारका लागि स्पेस छैन र अनुमति पनि छैन । यो केवल म्युजियमको रूपमा मात्रै हो,’प्रधानमन्त्री ओलीले भने ।
यससँगै प्रधानमन्त्री ओलीले प्रविधिको रूपान्तरण भइसकेको भन्दै देशका लागि योगदान दिन अनुरोध गरेका छन् । उनले उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दै छन्, अन्तर्राष्ट्रिय विमानस्थल थपिएको छ र हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादनले प्रविधिको रूपान्तरण भइसकेकोतर्फ ध्यानाकर्षण गराएका हुन् । सबैको ध्येय विकास र समृद्धि भएकाले यसमा सबैलाई ढुक्कले अगाडि बढ्न उनले आग्रहसमेत गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए । उनले नयाँ ढंगले काम गर्ने युवालाई सरकारले सबैखालको साथ दिने विश्वास दिलाए ।
यसै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौं । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।’
एमएडब्लूले सार्वजनिक गरेको उड्ने कार दुई सिट क्षमताको पूर्णतः इलेक्ट्रिक सवारी हो । यसको ३० देखि ५० किलोमिटरसम्मको रेन्ज क्षमता रहेको छ । यसलाई जीपीएसमार्फत स्वचालित रूपमा सञ्चालन गर्न सकिन्छ ।
नेपालमा यससम्बन्धी नीति–नियम नभएकाले हाल डेमो उडान नगरिएको र बिक्रीका लागि उपलब्ध छैन । चीनमा यसको परीक्षण उडान भइसकेको र सन् २०२६ देखि पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा छ । सरकारले आवश्यक नीति–नियम र पूर्वाधार बनाएमा नेपालको पहाडी क्षेत्रमा उद्धार कार्य र काठमाडौं जस्तो सहरमा ट्राफिक जाम कम गर्न यो निकै उपयोगी हुन सक्ने जनाइएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करणकुमार चौधरीले नाडा अटो शो सवारीसाधनको प्रदर्शनी मात्र नभई समग्र अटोमोबाइल क्षेत्रको व्यावसायिक थलो र महोत्सव भएको बताए । यसै क्रममा उनले नेपालको अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण योगदान पुर्याएको दाबीसमेत गरे ।
नेपालमा बिक्री हुने कुल गाडीमध्ये वार्षिक ४० प्रतिशत जति अटो शोबाटै बुकिङ तथा बिक्री हुने गरेको उनले जानकारी दिए । ‘यसले हाम्रो रोजगार र राजस्वमा ठूलो सहयोग पुर्याउँछ । साथै, समग्रमा अटोमोबाइल्स क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको छ ।
यद्यपि, अहिले युवा शक्ति पलायन हुनु देशको प्रमुख चुनौती भएको छ । यस स्थितिमा नाडाले सीप विकास र रोजगारी सिर्जनामार्फत यसलाई रोक्न पहल गरिरहेको छ,’ अध्यक्ष चौधरीले भने । यससँगै उनले नाडा उपभोक्ता, व्यवसायी र सरकार सबैको हितमा काम गर्न सधैं तत्पर रहेको बताए ।यसैगरी, उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरे । सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह गरे ।
उनले यो मेलाले बजार र ग्राहकलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनी भन्छन्, ‘पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेको छ । नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको छ ।’ यससँगै, अध्यक्ष ढकालले पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका संकेत देखिएको बताए ।
उनका अनुसार दुई वर्षअघिभन्दा सवारीसाधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको आकलन छ । ‘यसले बजारमा विश्वास बढेको देखाउँछ । यस्तै, कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको छ । बैंकको नाफामा पनि वृद्धि भएको छ । यो सकारात्मक कुरा हो’, उनले थपे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
