अनुमति नलिई भारतबाट एन्टिबायोटिक इन्जेक्सन ल्याई बिक्री, औषधि व्यवस्था विभागद्वारा गोदाम सिल

औषधि व्यवस्था विभागले गुणस्तरहीन एन्टिबायोटिक इन्जेक्सन बिक्री गर्ने कलंकीस्थित सफल स्वास्थ्य सेवा प्रालिको गोदाम सिल गरेको छ । विभागले आयातमा रोक लगाएको एन्टिबायोटिक इन्जेक्सन लुकाएर बिक्री गरेको फेला परेपछि उक्त कम्पनीको गोदाम सिल गरेको हो ।
सफल स्वास्थ्य सेवा प्रालिले एक वर्षदेखि गुणस्तरहीन एन्टिबायोटिक इन्जेक्सन लुकीछिपी ल्याएर बिक्री गरेको औषधि व्यवस्था विभागले जनाएको छ । उक्त कम्पनीले जनस्वास्थ्यमाथि खेलबाड गर्दै गुणस्तरीहन जीवनरक्षक औषधि (एन्टिबायोटिक इन्जेक्सन) बिक्री गर्दै आएको विभागको भनाइ छ । विभागले अनुगमन गर्दा मंगलबार राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीबाट एक हजार भाइल उक्त इन्जेक्सन बरामद गरेको थियो ।

इन्जेक्सनप्रति शंका लागेपछि विभागले मंगलबार र बिहीबार अनुगमन गरेको थियो । गलत भेटिएपछि एन्टिबायोटिक इन्जेक्सन बिक्री गर्ने कम्पनीको गोदाम सिल गरिएको हो । ‘एक त उहाँहरूको लाइसेन्स पनि नवीकरण भएको रहेनछ, यो औषधि ल्याउँछौँ भनेर अनुमति पनि लिनुभएको छैन । इन्जेक्सनसमेत गुणस्तरहीन छ भन्ने सूचना आएपछि मंगलबार र बिहीबार अनुगमन गरेका छौँ,’ औषधि व्यवस्था विभागका औषधि व्यवस्थापन किरण बज्राचार्यले भने, ‘यसमा हामीले थप अध्ययन गरी रिपोर्ट तयार पार्दै छौँ, त्यसपछि थप कारबाही हुन्छ ।’ उक्त कम्पनी औषधि आयात गर्ने कम्पनी हो । तर, विभागसँग कम्पनीले उक्त प्रकारको औषधि आयात गर्ने अनुमति लिएको छैन ।
मंगलबार उक्त औषधि तथा इन्जेक्सनको गोदाममा पुगेर विभागको टोलीले सिल गरेको थियो । साथै, कम्पनीका कागजातसमेत नियन्त्रणमा लिई अध्ययन भइरहेको विभागले जनाएको छ । कम्पनीले उक्त औषधि अस्पतालभित्रकै फार्मेसीहरूमा बिक्रीसमेत गरेको विभागले जनाएको छ । यसअघि जीवनरक्षक औषधि (एन्टिबायोटिक इन्जेक्सन) गुणस्तरहीन भएको भन्दै विभागले सोही कम्पनीको आयात अनुमतिपत्र खारेजसमेत गरेको थियो । तर, त्यसयता पनि कम्पनीले लुकीछिपी आयात गर्दै आइरहेको फेला परेको छ । पछिल्लो समय दुई करोडबराबरको एन्टिबायोटिक इन्जेक्सन २७ असारमा वीरगन्ज भन्सार हुँदै भित्रिएको थियो ।
विभागले यसअघि भारतीय भ्यालेन्ट्रोन हेल्थ केयर कम्पनीले उत्पादन गरेको औषधि ‘भ्लेक्जोन–१’ ग्राम गुणस्तरहीन भएको फेला पारेको थियो । गुणस्तरहीन भेटिएपछि उक्त औषधि आयातमा रोक लगाइएको थियो । हाल आयात गरिरहेको औषधि पनि विभागको अनुमतिविना ल्याएको भन्दै कारबाहीको तयारी गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
