राजनीति

बादलसहित ६ पदाधिकारीले गरे विद्या भण्डारीको पक्षमा वकालत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१९ भदौ, काठमाडौं । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषय मुख्य एजेण्डा बनेको छ ।

दिउँसो चार बजेदेखि झण्डै पाँच घण्टा चलेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीबारे लामै छलफल भएको नेताहरूले बताएका छन् ।

बिज्ञापन

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट र योगेश भट्टराईले पार्टी निर्णय सच्याउनुपर्ने तर्क गरेका थिए ।

‘आज खुलेरै नेताहरूले आफ्नो कुरा राख्नुभयो,’ बैठक स्रोत भन्छ, ‘पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णय ठीक छ भन्नेहरूले पनि बोल्नुभयो, रोक्नु हुन्न भन्ने तर्क पनि लामै प्रस्तुत भयो ।’गत ५–६ साउनको केन्द्रीय कमिटी बैठकबाट विद्या भण्डारीबारे गरिएको निर्णय सच्याउन वरिष्ठ उपाध्यक्ष पोखरेलले लिखित पत्र नै प्रस्तुत गरे ।

उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा रोक्न नमिल्ने तर्कहरू प्रस्तुत गरेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह भएरै संगठन विभागबाट विद्या भण्डारीको सदस्यता नवीकरण भएको तर्क गरेका पोखरेलले अरु पार्टी निर्णय सच्याउनलाई अरु प्रमाणहरू पनि प्रस्तुत गरेका छन् ।

भर्खरै मात्र एमालेकै नेतृत्व गरेर विद्या भण्डारीले चीन भ्रमण गरेको, संविधानले राजनीतिमा आउन रोक नलगाएको जस्ता तथ्यहरू पोखरेलले प्रस्तुत गरेका थिए । ‘पार्टी र आन्दोलनमा पर्ने दुरगामी नकारात्मक प्रभाव र परिणामको गम्भीर सम्भावनालाई समेत ख्याल गर्दै उक्त निर्णयप्रति आफ्नो असहमति राख्दै पार्टी विधानको धारा ७८ (१) मा भएको व्यवस्था बमोजिम मेरो फरक मतमा छलफल गरियोस् र पूर्वनिर्णयलाई सच्याइयोस्…’, पोखरेलको फरक मतमा भनिएको छ ।

विद्या भण्डारीबारे गरिएको निर्णय सच्याउनुपर्ने पक्षमा बादलले आज मुख खोलेका छन् । यसअघि मौन रहँदै आएका बादलले भण्डारीलाई राजनीतिमा रोक्ने निर्णयलाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए ।

संविधानमा प्रष्ट नलेखिएकाले पूर्वराष्ट्रपतिले लिएको निर्णयलाई अन्यथा लिन नहुने तर्क गरेका थिए । ‘यो विषयबारे संविधानमा क्लियर छैन, त्यसैले उहाँले इच्छा राख्नुलाई अन्यथा ठान्नु हुँदैन,’ बादलले भनेका थिए ।

तर अहिले एमालेको निर्णयका कारण समाज विभाजित हुन पुगेको उनले बताए । ‘सोसाइटी विभाजित छ । हामीले यसलाई सामान्य रुपमा लिनु हुँदैन,’ उनले भने, ‘गम्भीर रुपले हेर्नुपर्छ, र समाधान गर्नुपर्छ ।’ १४ असारमा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा फर्कने घोषणा गर्दा पनि बादल पनि त्यहीँ उपस्थित थिए । तर बोलेका भने थिएनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।