राजनीति

सरकारले सर्वोच्चको आदेशको अपव्याख्या गरेर सामाजिक सञ्जाल बन्द गर्‍यो : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेशको अपव्याख्या गर्दै सरकारले सामाजिक सञ्जाल बन्द गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले सरकारको कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी रहेको बताएका हुन्। उनले लेखेका छन्, ‘सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानुनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्यासमेत हो।’

बिज्ञापन

आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने गर्दै आएको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको आरोप लगाउँदै प्रचण्डले लेखेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ। यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ।’

माओवादी सामाजिक सञ्जाल नियन्त्रण नभई नियमनको पक्षमा अडिग रहेको भन्दै प्रचण्डले संसदमा विचाराधीन विधेयकलाई अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत बन्द गर्नु आपत्तिजनक रहेको टिप्पणी गरेका छन्।

‘म संविधानप्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै याे निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु,’ प्रचण्डले भनेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।