नयाँ सरकार प्रमुख छान्न जंगीअड्डामा जेनजी प्रतिनिधिका ९ घन्टा

२५ भदौ, काठमाडौं । भ्रष्टाचारविरोधी जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको खोजी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक वार्ता गर्नुअघि छलफलका लागि बोलाइएका जेनजी प्रतिनिधिले जंगीअड्डामै छलफल गरेर देशको भविष्यबारे खाका प्रस्तुत गरेका हुन् ।
नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार, झण्डै ९ घन्टा लामो छलफलपछि जेनजी प्रतिनिधिका तर्फबाट सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएको छ ।

‘उहाँहरुले सम्माननीयज्यूको नाम प्रस्ताव गर्नुभएको छ, यद्यपि केही समूहसँग अझै कुराकानी गर्न बाँकी छ,’ ती अधिकारीले भने, ‘उहाँहरुसँग बिहीबार बिहान कुराकानी गरेपछि थप प्रक्रिया अघि बढ्छ ।’
बुधबार बेलुकी जेनजी प्रतिनिधिले कार्कीको नाम प्रस्ताव गरेको विवरण सार्वजनिक भएलगत्तै एउटा समूहले जंगीअड्डाको बाहिर गएर नारावाजी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन सेनाले माइकिङ समेत गर्नु परेको थियो ।
‘प्रक्रिया अघि बढाएको अवस्थामा कुनै पनि समूहको असन्तुष्टि नहोस् भन्नेमा सचेत छौं,’ सैनिक स्रोतले भन्यो, ‘त्यसैले विभिन्न पक्षसँग छलफल गरिरहेका छौं ।’
त्यही नीति अन्तर्गत भेटका लागि समय मागेका दुर्गा प्रसाईंदेखि धरानका मेयर हर्क साम्पाङसम्मलाई भेटेको सैनिक स्रोत बताउँछ ।
जेनजीका प्रतिनिधि धेरै हुँदा अन्योल
सैनिक अधिकारीहरुका अनुसार, संवादका लागि जाने भन्दै सम्पर्क गर्ने प्रतिनिधि धेरै भएपछि कुराकानी गर्न कतिपय अवस्थामा समस्या समेत भएको छ ।
राष्ट्रपति वार्ताका लागि आह्वान गरेलगत्तै संवादका लागि नाम टिपाएका जति अधिकांशलाई बुधबार सेनाले छलफलका लागि बोलाएको थियो । तर, बिहान १० बजेतिर २० जनाभन्दा बढी भेला भएपछि प्रधानसेनापति अशोकराज सिग्देलले पहिले छुट्टै बसेर साझा मत लिएर आउन भनेका थिए ।
‘धेरै जनासँग कुरा गर्न समेत कठिनाइ हुन्छ, त्यसैले सबै जना पहिले एकठाउँमा बसेर आउनु होला,’ उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सकभर एक जनालाई संयोजक समेत बनाएर आउनु होला ।’
त्यसपछि जेनजी प्रतिनिधिलाई छुट्टै बसेर छलफल गर्न सेनाले हल उपलब्ध गराएको थियो । त्यसक्रममा कतिपयले आगामी सरकार कस्तो हुने भन्नेबारे छलफल भएको थियो ।
स्रोतका अनुसार, उनीहरुबीच देशको भविष्य गणतन्त्र वा राजतन्त्र के हुने भन्नेमा समेत छलफल भएको थियो । जंगीअड्डामा चलिरहेको छलफलबाट बाहिर निस्किएकी रक्षा बमले ‘आन्दोलनको न्यूनतम मर्मविरुद्ध छलफल अघि बढाइन थालेपछि आफू र केही साथीहरु बाहिरिएको’ भनेकी छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
