व्याक्ती बिशेष

कोमल वलीको भावुक स्टाटस- गीत गाएर समाचार पढेर जोडेको थिएँ यसमा मेरो के दोष देख्यौँ ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । रुपन्देही । नेकपा एमालेकी केन्द्रीय नेतृ तथा पूर्वसांसद कोमल वलीले आफ्नो जीवनभरको पसिना र सपना जलेर खरानी बनेको पीडामाथि भावुक स्टाटस सार्वजनिक गरेकी छिन् ।

जेन-जी आन्दोलनका क्रममा तुलसीपुरमा सञ्चालन हुँदै आएको उनको होटलमा आगो लगाइएपछि सामाजिक सञ्जालमार्फत मनको पीडा पोख्दै आक्रोश व्यक्त गरेकी हुन् ।

बिज्ञापन

उनले लेखेकी छन्, ‘हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो । मैले सधैँ साथ दिएको उमेर समूह जेन-जीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो हुने छैन ।’

जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी उनले निर्दोष बालबालिकाले आन्दोलनमा अनाहकमा ज्यान गुमाउँदा आफू निकै पीडामा रहेको उल्लेख गरेकी छिन् ।

वलीले आफूले सञ्चालन गर्दै आएकी होटल कुनै प्रतिस्पर्धाका लागि नभई गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपना बोकेको परियोजना भएको बताइन् ।

रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा ऋणसहित खडा भएको होटल खरानी पारिएकोमा उनले दुःख पोखेकी हुन् ।

उनले आफ्नो बाल्यकालदेखि गायन, खेलकुद र रेडियो नेपालमार्फत देश चिनाउने अवसर पाएको अनुभव स्मरण गर्दै १८ वर्ष रेडियो नेपालमा सेवा गरेपछि राजनीति रोजेको बताइन् । राष्ट्रिय सभामा सांसद रहँदा सेवामुखी जीवन बिताउने संकल्पसहित काम गरेको बताउँदै उनले आफू इमानदार, निष्ठावान् र भ्रष्टाचारमुक्त जीवन जिउँदै आएको उल्लेख गरिन् ।

‘यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु,’ भन्दै उनले आर्थिक प्रलोभनमा कहिल्यै नपरेको, कसैलाई टिकट काट्न नलगाएको र उपचार खर्चका नाममा सुविधा नलिएको दाबी गरिन् ।

२०७९ सालको निर्वाचन जित्न नसके पनि करिब ३० हजार नागरिकको भावना जितेकोमा आफू गर्भित रहेको उनले स्मरण गरिन् ।

तर उनले जेन-जी आन्दोलनको नाममा भएको तोडफोड र आगजनीप्रति प्रश्न गर्दै भनिन्, ‘के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन-जीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिइरहेका ट्रक र गाडी जलाउँदा हात काँपेनन् ?’

वलीले यसलाई योजनाबद्ध अपराध भन्दै माओवादीहरूले २०६१ सालतिर पनि आफ्नो घर जलाएको, लुटपाट गरेको र सात वर्षसम्म जग्गा कब्जा गरेको स्मरण गरिन् । आमा त्यसबेलादेखि नै बिरामी भएको बताउँदै उनले फेरि पनि नयाँ पुस्ताले उही पाप दोहोर्‍याएको आरोप लगाइन् ।

उनले आन्दोलनको आडमा भएको विनाशलाई ‘एक निष्कलङ्क, गरिखाने चेलीको रगत पसिना चुसेर गरिएको महापाप’ भन्दै चेतावनी दिँदै भनिन्, ‘जब जब मेरो गीत ‘तुलसीपुरमा म जाँदाखेरि’ बज्नेछ, तिम्रा लुट्ने हात काँप्नेछन् । यो देश बाँकी रहने छ, कानुनी शासन चल्ने छ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ ।’

आफ्नो सपना खरानी बनाउन सकिए पनि आत्मसम्मान र देशप्रतिको मायालाई खरानी बनाउन नसकिने उल्लेख गर्दै उनले पापको परिणाम भोग्नै पर्ने चेतावनी दिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।