सुदूरपश्चिम प्रदेश

थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरः दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य विगतमा झैँ लामो समयसम्म आयोजना हुने गरेको छैन।

परम्परागत रूपमा कृष्ण जन्माष्टमीदेखि सुरु भएर दसैँको टीकाका दिनसम्म सञ्चालन हुने सखिया नृत्य अहिले पाँचदेखि १० दिनमै सीमित हुन थालेको छ। थारु संस्कृतिका जानकार हवलदार चौधरीका अनुसार अघिल्ला पुस्तामा खेतीपातीमै निर्भर जीवनशैली भएकाले दसैँमा लामो फुर्सद पाइन्थ्यो र महिनौँ नाच्ने गर्दथे। अहिले अधिकांश युवा व्यावसायिक खेती, व्यापार, नोकरी वा परदेश रोजगारीतर्फ लागेका छन्।

बिज्ञापन

त्यसैले गाउँमा नाच्ने युवतीहरूको सङ्ख्या घट्दै गएको छ। ‘युवा परदेश जाँदैछन्, गीत र मादल सिक्ने परम्परा पनि पुस्तान्तरण हुन सकेको छैन, यसैले सखियाको रौनक घट्दै गएको हो’, उनले भने। उनी भन्छन्, ‘सखिया नृत्यमा प्रयोग हुने गीत अधिकांशलाई कण्ठ छैनन् भने मादल बजाउने सीपसमेत लोप हुँदै गएको छ, गीत र ताल पुस्तान्तरण हुन नसक्दा मौलिकता हराउँदै गएको छ।’ यस नृत्यमा सामूहिकताको भावना बलियो हुने भएकाले नयाँ पुस्तालाई संस्कृतिसँग जोड्न आवश्यक रहेको उनको भनाइ रहेको छ।

चौधरीका अनुसार सखिया नृत्यमा चार जना मादल बजाउने मदारी हुन्छन्। अगुवा मदारीले ताल थाल्छन् भने पछुवा मदारीले त्यसैमा ताल मिलाउँछन्। महिलाहरूलाई अगुवाइ गर्ने मोह्रिन्याको नेतृत्वमा जेठ गोहीया र पछगोहीया बनेर युवतीहरूले नृत्य गर्छन्। नृत्यमा प्रयोग हुने ‘पैंया’ (खोट) २२ प्रकारसम्म हुने गरेकामा अहिले मदारीहरूले नयाँ शैली सिर्जना गर्दै लयलाई परिमार्जन गरेर नृत्य पस्किने गरेको उनी बताउछन्। थारु संस्कृतिका जानकार चौधरीका अनुसार पैंया मादलको तालसँगै युवतीहरूले खुट्टा र शरीरको मुद्रामा प्रस्तुत गर्ने नृत्यशैली हो। यो नृत्यको आकर्शणका रूपमा रहेको हुन्छ। 

‘सखिया नृत्य कृष्णको जन्मदेखि कंश वधसम्मका प्रसङ्ग समेटिएको हुन्छ’, वरघर सुरेस चौधरीले भने, ‘दसैँको सप्तमीसम्म रातमा आयोजना हुने यो नृत्य अष्टमीको रातभर नाचिन्छ, जसलाई ‘भेडुवा जगैना’ भनिन्छ, यस दिन कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलनसमेत रहेको छ।’ नृत्यका सहभागी युवतीहरूले रङ्गीन ऐना जडित लुगाहरू लगाउँछन् भने मदारीले सेतो धोती–कमिज धारण गर्छन्। हातमा मैजरी लिएर तालमा बजाउने महिलाहरूको सहभागिता यसलाई अझ आकर्षक बनाउँने उनी बताउछन्। सखिया नृत्य नवमीको दिनदेखि दसैँको दिनसम्म दिउँसो नाच्ने गरिन्छ।

थारु बुद्धिजीवी धनबहादुर चौधरीका अनुसार नयाँ पुस्ताले परिवर्तन खोजेकाले पनि नृत्यप्रति चासो कम देखिँदै गएको छ। ‘समयअनुसार सखिया नृत्यलाई ढाल्न आवश्यक देखिएको छ, संस्कृति र पर्यटनसँग जोड्न सके यसले भविष्यमा पनि महत्त्व पाउँछ’, उनले भने। सखिया नृत्य गाउँगाउँमा धनी–गरिब सबैका घरमा देखाइने भएकाले सामाजिक सद्भाव र मेलमिलाप कायम गर्ने माध्यमका रूपमा रहेको उनले बताए। दसैँपछि नृत्यमा सहभागीलाई सामूहिक भोज (ख्यारा खाने) गर्ने परम्परा थारु समुदायमा रहेको छ।

संयुक्त परिवारको संरचना भङ्ग हुँदै एकल परिवार बढ्नु, गाउँबाट रोजगारीका लागि बाहिरिने बाध्यता र खर्चिलो परम्परा सखिया नृत्य छोटिने प्रमुख कारण बनेको उनको बुझाइरहेको छ। तर यसलाई संरक्षण र पर्यटनसँग जोड्न सके मौलिक संस्कृति जगेर्ना हुने उनको विश्वास छ। 

रासस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।