२१ फागुनको निर्वाचन माओवादीको प्राथमिकतामा : वातावरण बनाउन विघटित संसदमा प्रतिनिधित्व गरेका दलहरूसँग संवाद जारी

दसैँअघि नै निर्वाचनमा जाने निर्णय लिएको माओवादीले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई उच्च प्राथामिकतामा राख्दै वातावरण बनाउन सक्रिय पहल थालेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको र यसको वातावरण बनाउन पार्टीले संवाद जारी राखेको जानकारी गराएका छन् ।
उनका अनुसार दलहरूबिच संवाद भइरहेको र सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइरहेका छन् । तर, कुन–कुन दलसँग छलफल भइरहेको छ भन्ने उनले स्पष्ट गरेनन् । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले निर्वाचनमार्फत मात्र अहिलेको संविधान र व्यवस्था जोगाउन सकिने बताएका थिए । ती सदस्यका अनुसार निर्वाचनका लागि दलहरूसँग छलफल गरेर वातावरण बनाउनुपर्ने र सरकारलाई सहयोग गरेर जानुपर्नेमा प्रचण्डले जोड दिएका छन् ।

‘हामी घोषित मितिमै निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा छौँ । हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ,’ बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले भने, ‘निर्वाचनबारे अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ । निर्वाचनमार्फत नै अहिलेको संविधान र व्यवस्था जोगाउन सकिन्छ ।’ सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको उनले बताए ।
पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार निर्वाचनलाई सफल बनाउन माओवादीले संसद्मा रहेका सबै दलहरूसँग छलफल गरिरहेको छ । ‘निर्वाचनलाई सफल पार्नका लागि सकारात्मक वातावरण बनाउन हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेलिरहेको छ । छलफलहरू सकारात्मक छन् र चुनावमा जाने विषयमा करिब–करिब सबै दलबिच सहमति बन्दै छ,’ उनले भने ।
सरकारको तर्फबाट भने हालसम्म निर्वाचनको विषयमा दलहरूसँग ठोस छलफल नभएको उनले बताए । ‘कांग्रेस र एमालेको पनि बैठक बस्दै छ । चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ,’ उनले भने, ‘निर्वाचन गर्ने कुरालाई हाम्रो पार्टीले शीर्ष स्थानमा राखेको छ ।’दसैँअघि बसेको केन्द्रीय समिति बैठकबाटै माओवादीले निर्वाचनमा जाने निर्णय लिएको थियो ।
निर्वाचन तयारीसँगै पार्टीले महाधिवेशनको तयारीलाई पनि अघि बढाएको छ । महाधिवेशनको कार्यविधि तयार गर्ने र आयोजक समिति निश्चित गरेपछि मिति तय गरिने नेताहरूले जनाएका छन् । २३ असोजमा बस्ने सचिवालय बैठकले महाधिवेशनको मिति तय गर्ने तयारी छ । प्रचण्डले महाधिवेशनलाई विचार, संगठन र राजनीतिक कार्यदिशाको पुनरावलोकन गर्ने अवसरका रूपमा लिएको बताए । ‘हामीले नयाँ परिवेशअनुसार पार्टीको विचार, संगठन र कार्यदिशा सबैलाई पुन: व्यवस्थित गर्नुपर्ने चुनौती सामना गरिरहेका छौँ । यो रूपान्तरण र एकताको राम्रो अवसर हो,’ उनले भने ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
