राजनीति

जनमतमा विद्रोह : उपाध्यक्षसहित १५ नेताले दिए नयाँ पार्टी दर्ताको निवेदन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अध्यक्ष सिके राउत भन्छन्– साथीहरूलाई शुभकामना

संसद् विघटन भई नयाँ निर्वाचनको मिति तोकिएलगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीमा तेस्रो पक्षले विद्रोह गरी नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएको छ । वरिष्ठ उपाध्यक्षको नेतृत्वमा ६ केन्द्रीय सदस्यले राजीनामा दिएको करिब एक महिनापछि उपाध्यक्षको नेतृत्वमा तेस्रो पक्षले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएको हो । 

जनमतका उपाध्यक्ष दीपक साहको नेतृत्वमा निर्वाचन आयोगमा जनस्वराज पार्टी दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगका सूचना अधिकृत सुमन घिमिरेले निवेदन दर्ता भएको बताए । ‘निवेदन दर्ता भएको छ । अरू प्रक्रिया अघि बढेको छैन । राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधान हेरेर आयोग अगाडि बढ्छ,’ उनले भने । 

बिज्ञापन

साहले भने नेताहरू बुझ्नका लागि निर्वाचन आयोगमा गएको बताए । ‘म आज कुरा गर्ने अवस्थामा छैन, साथीहरू बुझ्नका लागि निर्वाचन आयोगमा जानुभएको हो,’ उनले नयाँ पत्रिकासँग भने । ५२ सदस्यीय कार्यकारिणी समितिबाट अलग भएर १५ जनाले नयाँ पार्टी दर्ता प्रक्रिया अगाडि बढाएको साहको दाबी छ । साहसँगै कार्यकारिणी समितिका सदस्य सुरेन्द्रनारायण यादव, हेमलता रजक र शम्भुनाथ साहलगायत नेता नयाँ पार्टी दर्ता प्रक्रियामा लागेका हुन् । 

यसअघि भदौ अन्तिममा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानसहित केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, कुमार यादव, सिके सिंह, राजाराम चौधरी र विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका थिए । साहले खानलाई नयाँ पार्टीको नेतृत्व गर्न आग्रह गरेका थिए । तर, खान सहमत नभएपछि आफ्नै नेतृत्वमा साहले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।

‘दीपकजीले अध्यक्षता गर्नुस् भन्नुभएको थियो । तर, मैले पार्टी फुटाउँदिनँ भनेँ । उहाँहरू पार्टीमा २० प्रतिशत पुर्‍याएर दर्ताका लागि निर्वाचन आयोग जानुभएछ,’ खानले भने, ‘अब के गर्ने र कसरी अगाडि बढ्ने भन्ने छलफलमै छौँ ।’खानलगायत ६ नेताले अध्यक्ष राउतको लिखित राजीनामा मागेका थिए । राउतले स्पष्टीकरणको तयारी गरेपछि उनीहरूले राजीनामा दिएका थिए ।

राउतले अनावश्यक रूपमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने क्रम बढाएपछि नयाँ पार्टीको प्रक्रिया अघि बढाएको साहपक्षीय नेताहरूको दाबी छ । पार्टी अध्यक्ष राउतले पार्टी विधि र आफ्नो एजेन्डामा चलिरहेको तथा नयाँ पार्टी गठनबारे आफूलाई थाहा नभएको बताए । ‘नयाँ पार्टी दर्ताको विषयमा मलाई थाहा छैन । यदि, साथीहरू त्यसरी लाग्नुभएको भए, शुभकामना छ,’ उनले भने, ‘हामी जनताको पक्षमा निरन्तर क्रियाशील छौँ । पार्टी नीतिविपरीत जाने जो–कोही अनुशासनको कारबाहीमा पर्छन् ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।