राजनीति

कञ्चनरूप नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध किटानी जाहेरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सप्तरीको कञ्चनरूप नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध किटानी जाहेरी परेको छ । बुधबार कञ्चनरूप नगरपालिका– १, बरमझिया टोलका २४ वर्षीय अनिश शेखले अभद्र व्यवहार, भेदभावपूर्ण व्यवहार, कुटपिट र छुवाछुत वा जातीय भेदभाव गरेको भन्दै मेयर ललनप्रसाद गुप्ता, नगर प्रहरी सिर्जना भट्टराई, मनीष चौधरी, सुरेश यादव, सरोज सदा, सुदीप चौधरी, अमरेन्द्र साह र नगर शिक्षा समितिका सदस्य प्रमोद कटुवालविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका हुन् । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरमा दिएको जाहेरीअनुसार, कञ्चनरूप नगरपालिका– १, बरमझिया टोलका २४ वर्षीय अनिश शेख, स्थानीय सञ्चारकर्मी हुन्, असोज २८ गते दिउँसो करिब २ बजे समाचार संकलनका क्रममा नगरपालिकाको हाताभित्र कुटपिट र दुर्व्यवहारमा परेका हुन् । शेखले भने, ‘नगरपालिकामा कार्यरत शिक्षक र कर्मचारीहरूले चार महिनादेखि तलब नपाएको विरोधमा आन्दोलन गरिरहेका थिए। म सो आन्दोलनको समाचार संकलन गर्न पुगेको थिएँ। त्यही क्रममा नगर प्रमुख ललनप्रसाद गुप्ताले मलाई ‘तँ मिया (मुस्लिम) कुन पत्रकार होस् ? तिमीलाई पत्रकारको प्रमाणपत्र कसले दिएको हो ? यहाँ कसले बोलाएको हो ?’ भन्दै सार्वजनिक स्थानमै अपमानजनक शब्द प्रयोग गर्दै धम्की दिए र कुटपिट गर्न आदेश दिए ।’

बिज्ञापन

जाहेरीमा उल्लेख भएअनुसार नगर प्रमुखको आदेशमा कार्यरत नगर प्रहरी सिर्जना भट्टराई, मनीष चौधरी, सुरेश यादव, सरोज सदा, सुदीप चौधरी, अमरेन्द्र साह र नगर शिक्षा समितिका सदस्य प्रमोद कटुवालसमेतले पत्रकारमाथि दुर्व्यवहार र कुटपिट गरेको उल्लेख छ । शेखका अनुसार, सो क्रममा उनीसँग रहेको मोबाइल फोन खोसेर त्यसमा रहेका समाचार सामग्रीहरू डिलिट गरिएको र उनलाई हातपात गर्दै नगरपालिकाको गेटबाहिर जबर्जस्ती निकालिएको थियो ।

जाहेरीमा भनिएको छ कि सो घटनामा संलग्न व्यक्तिहरूले मुलुकी अपराध संहिता, २०७४ का धारा २१८ (अभद्र व्यवहार), १६० (भेदभावपूर्ण व्यवहार), १६६ (कुटपिट), र १९१ (छुवाछुत वा जातीय भेदभाव) अन्तर्गतका कसुर गरेका छन्। पत्रकार शेखले कानुनअनुसार सम्बन्धित सबै प्रतिवादीहरूमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् ।

सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको र जाहेरी लिएर अध्ययन भइरहेको बताए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।