सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, स्वीकृति नलिई भेटघाट गर्नेहरू छानबिनमा

संगठनभित्रको अनुशासनलाई बलियो बनाउन सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरेको छ। भेटघाट गर्नुपरेमा अनिवार्य स्वीकृति लिन भन्दै बिहीबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र गरेको छ।
सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्चपदस्थ व्यक्तित्वहरू, राजनीतिक दलहरूका नेतृत्व तथा पदाधिकारीलगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरूमा भेटघाट गर्न कडाइ गरिएको हो। केहीमाथि छानबिनसमेत भइरहेको सशस्त्र प्रहरी स्रोत बताउँछ।
‘सशस्त्र प्रहरी कर्मचारीहरूले कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश २०७९’ स्वीकृत गरी लागू गरिएको हुँदा सोको पालना गर्न परिपत्र गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न उच्चपदस्थ व्यक्तित्वहरू, सामाजिक अभियन्तालगायतका विभिन्न सञ्चारमाध्यमहरूलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरूमा प्रतिकूल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरू तथा संगठनका गोप्य सूचनाहरू अनधिकृत रूपमा प्रकाशन गरेको पाइएमा कडा कारबाही गरिने परिपत्रमा उल्लेख छ।
परिपत्रमा भनिएको छ- ‘राज्यप्रदत्त जिम्मेवारीहरूमध्ये विशेष गरी आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपत् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षाजस्तो महत्वपूर्ण जिम्मेवारीसमेत भएको संगठनमा कार्यरत कर्मचारीले अनधिकृत रूपमा गरिने भेटघाटले सांगठानिक मर्यादामा खलल मात्र नभई राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने हुँदा यस्ता गतिविधिहरुलाई पूर्ण रूपमा निरुत्साहित गर्न जुनसुकै उच दर्जाको भए तापनि सशस्त्र प्रहरी ऐन एवं सशस्त्र प्रहरीको नियमावलीको नियम आकर्षित गरी कडाभन्दा कडा कारबाही अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ।’ सशस्त्र प्रहरीका केही उच्च अधिकारीले व्यक्तिगत स्वार्थका लागि केही अनधिकृत भेटघाट गरेको थाहा भएपछि यस्तो परिपत्र भएको स्रोत बताउँछ।
फौजी संगठनमा अनुशासित, मर्यादित र आदेशको पालना हुनैपर्ने, संगठनमा कार्यरत जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको मान, प्रतिष्ठा, इज्जत त्यति नै हुने हुँदा कुनै एक कर्मचारीले गरेको गल्तीले व्यक्तिको मात्र नभई संगठनको समेत बदनाम हुने भएकाले यसरी कडाइ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
‘राष्ट्र सेवाको लागि माइनस २० डिग्री सेल्सियस न्यूनतम तापक्रमदेखि ४४ डिग्री सेल्सियस उच्चतम तापक्रमसम्म निःस्वार्थ भएर २४सै घण्टा दत्तचित्त भई सेवा गर्ने राष्ट्रसेवक पहरेदार कर्मचारीहरूको समेत मनोबल उच्च हुने गरी संगठनले कार्य गरिरहेको हुँदा कसैको दबाब र भनसुनले राम्रो अवसर दिन नसकिने परिपत्रमा उल्लेख छ।
आर्थिक तथा भौतिक रूपमा चाहिने जति सेवासुविधा तुलनात्मक रूपमा नभए तापनि राज्य दिएको सम्मान र प्रतिष्ठालाई शिरमा राखी आ–आफ्नो पदको मर्यादा र अनुशासनको पालना गरी संगठनले लिएको शून्य सहनशीलताको नीतिलाई अक्षरस पालन गर्दै सीमा सुरक्षा, शान्तिसुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपतमा परेकाहरूको उद्धार तथा सहयोगलगायतका कार्यहरूमा उच्च मनोबल र पेसागत बफादारिताकासाथ लाग्नसमेत निर्देशन दिइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
