गृहमन्त्रीको राजीनामा माग्दै सुदनले भने– जेन–जीका माग सम्बोधन नभए चुनाव हुन दिँदैनौँ

‘हामी नेपाल’का संयोजक सुदन गुरुङले नेपाली जनता र जेन–जीका मागहरू सम्बोधन नगरे चुनाव हुन नदिने चेतावनी दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्रीप्रति असन्तुष्टि व्यक्त गर्दै गुरुङले ०८४ को चुनाव ०८२ मा सार्नलाई आन्दोलन नगरेको प्रस्ट पारेका हुन्।
नेपाली युवा मूर्ख नभएको भन्दै गुरुङले लेखेका छन्, ‘चुनावको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो। नेपाली जनता र जेन–जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइनेछैन।’

देशभरबाट हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको आवाज उठ्दा गृहमन्त्रीले ‘जेन–जीलाई कारबाही गर’ सुनेको भन्दै उनले ‘अलोकप्रिय’ गृहमन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रतिकै अपमान हो भनेका छन्।
गुरुङले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्। ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ। किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारीलाई कारबाही भयो न त कुनै हत्यारालाई।’
आफ्नो चरित्रहत्या हुँदासमेत आफूले सहेर मौन रहेको बताउँदै गुरुङले गृहमन्त्री अर्यालसँग आशा मरिसकेको बताएका छन्। पदमा टाँसिएर बसिरहे हटाउने संकेत गर्दै उनले लेखेका छन्, ‘अझै पनि गृहमन्त्रीको पदमा टाँसिएर जुकाजस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्र भनेर कुर्सी बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
