सबैले जान्नु पर्ने : आईभिएफ के हो ?

लेखक: अप्सरा विष्ट, व्यवस्थापन संकायबाट स्नातक सकेपछि ‘क’ वर्गको बैंकमा जागिर मिल्यो निरजा शर्मा (नाम परिवर्तन) को । उच्च घरनाका अंग्रेजीमा स्नातकोत्तर एक गैरसरकारी संस्थामा कार्यरत युवासँग मागी विवाहका लागि घर सल्लाह भयो । उनै युवासँग विवाह गर्ने निधो भयो । विवाह धूमधामले भयो । विवाह पछि बुवा-आमा, सासू–ससुरा, इष्टमित्र, छरछिमेक सबैले एकदम जोडी मिलेको भनेर तारिफ गर्थे निरजा र सुरभको जोडिलाई ।
काठमाडौंमा घर, श्रीमानको गैरसरकारी संस्थाबाट मनग्य तलब, आफ्नो बैंकबाट राम्रै कमाई थियो । ससुराबुवा उपसचिवबाट अवकाश प्राप्त सरकारी कर्मचारी । बिहान कार्यालय श्रीमानको गाडीमा । साँझ श्रीमान् बैंकमै लिन पुग्ने । घरको एक्लो छोरा साँच्चिकै सुखी परिवारको नमूना जस्तै थियो, डेढ वर्ष जति ।

डेढ वर्षपछि निरजालाई घरका अभिभावक, बाहिरका, साथीसङ्गी सबैले सोध्थे- ‘के हो, अब त बच्चा जन्माउन ढिला भएन र ?’ जवाफमा निरजाले भन्थिन्- ‘किन हतार ? उमेर छँदै छ ।’ साथीसङ्गीको प्रश्नले उनको मनमा मुटुमै सियोले चसक्क घोचे जस्तो हुन्थ्यो । पति सुरभसँग बच्चा जन्माउने, बच्चाको भविष्य, लालनपोषण कसरी गर्ने सबै सपना सुनाई रहन्थिन् निरजा ।
सुरभ घरका एक्ला छोरा, बच्चा केही पछि जन्माए पनि हुन्छ भन्ने थिएन । निरजा र सुरभले बच्चा निरोधक त्यस्तो कुनै अस्थायी साधन पनि प्रयोग गरेका थिएनन् । २०७७ पुसको एक शनिवार सासू-बुहारी छतमा घाम तापिरहेका थिए । ‘हैन बुहारी नानी हामीलाई नाति-नातिनी खेलाएर हुर्काउने रहर छ । नपुग्दो के छ र ? वंश पनि चाहियो, एक्लो छोरो हो तिमीहरूले किन बच्चा बनाउँदैनौ ?’, सासूआमाले एकाएक मुख खोलिन ।
निरजाले सासूलाई तत्काल जवाफ फर्काउने कुरै भएन । सासूको प्रश्न पछि निरजाको मनमा गहिरो झड्का लाग्यो र अनेकन कुरा खेल्न थाले । राति सुत्ने कोठामा पुग्दा उनको शरीरमा चिटचिट पसिना आए जस्तो र छटपटी भयो । निरजाको अनुहारमा देखिएको निराशाको भावलाई सुरभले पहिल्याउन थाले ।
‘के भयो तिमीलाई’, सुरभले भने । ‘सासूआमा, ससुराबुवाले हाम्रो लागि चिन्ता लिनुभएको छ । बच्चा किन नबनाएको भनेर । आज मामुले दिउँसो सोध्नुभयो’, निरजाले पतिलाई भनिन् । त्यो दिनको कथा सुनाउँदै निरजाले भनिन्- ‘त्यो रातदेखि म कयौँ रात सुत्न सकिनँ । बाहिरकाले बच्चा किन नबनाएको भन्ने भन्दा सासूआमाले सोधेको प्रश्नको जवाफ साह्रै भारी भयो ।’
शरीरमा चिटचिट पसिना आउने, अनिदोले जिऊ भारी हुने । आँखाको वरिपरि काला दाग देखिन थाले । एक महिनामा निरजाको निख्खर अनुहारमा चाँयापोतो आउन थाल्यो । खान नरुच्ने, मनमा अनेकन कुरा खेल्न थाल्यो । एक साँझ श्रीमानसँग दुवै जना भोली बिहान चिकित्सकको सल्लाह लिन जाने निर्णयमा पुगे । समाज न हो, कुनै सम्बन्धित विज्ञ चिकित्सकमा गएपछि चियोचर्चा हुन्छ । घर परिवारका सदस्य, साथीसङ्गी कसैलाई नभनी पती-पत्नी एक प्रतिष्ठित स्त्री रोग विशेषज्ञ चिकित्सकसँग सल्लाह लिन पुगे ।
चिकित्सकले निरजाको पाठेघर, डिम्वशायको स्क्यान (भिडियो एक्सरे) गरेर हेरे । सुरभको शुक्रकीट र अण्डाको स्याम्पल लिएपछि दुबै जनालाई भोलिपल्ट रिपोर्ट लिन बोलाए । अर्को दिन रिपोर्ट लिएर चिकित्सकलाई देखाउँदा निःसन्तान अर्थात् ‘बच्चा जन्माउने अण्डा’ सक्षम नरहेको निरजाले थाहा पाइन् । सुरभको शुक्रकीटमा बच्चा जन्माउने क्षमता भएको रिपोर्टमा देखियो ।
दुवै जना शिक्षित परिवारका भएकाले निःसन्तानहरुले सन्तान जन्माउन सक्ने व्यवस्था सम्बन्धी समाचारहरू पढेका थिए । चिकित्सकले पनि मुलुकी देवानी संहिता २०७४, जनस्वास्थ्य सेवा ऐन, २०७५ लागु भएपछि अझ यो प्रक्रिया सहज भएको जानकारी दिए । तर घरमा आफूबाट बच्चा हुन्न भनेर निरजाले सिधै भन्न सक्ने आँट आएन । श्रीमान् र श्रीमतीबीच सहमतिमा चिकित्सकको सल्लाह बमोजिम अर्की महिलाको अण्डा दान लिएर आईभीएफ (इनभिट्रो फर्टिलाइजेशन्) अर्थात् मानिसको शरीर बाहिर भ्रूण तयार पारी मानव पाठेघरभित्र प्रत्यारोपण गरिने प्रविधि अपनाए ।
श्रीमान् र श्रीमतीको सहमतिबीचको सहमतिमा चिकित्सकको सल्लाह बमोजिम अण्डा दान लिएर उक्त प्रविधिपछि निरजाको पाठेघरमा भ्रूण राखियो । निरजाको पाठेघरमा राखिएको भ्रूण सफल भयो । उनले ०७८ मा छोरा जन्माइन् । यतिखेर निरजाको परिवार खुसी छ । छोरा भर्खर तोते बोल्छ । हिजोको त्यो पीडादायी घरपरिवार, समाजबाट सोधिने बच्चा खोइ ? भन्ने प्रश्नको जवाफ बच्चाले दिइसकेको छ । निरजा र सुरभको परिवारको यो घटना यहाँ प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता कयैंन घरपरिवारमा यो प्रविधिले खुसी ल्याएको छ ।
निःसन्तानलाई ‘आईयुआई र आईभीएफ’बाट सन्तान
‘आईयुआई’ (ईन्ट्रायूट्रेन इसिमेशन) गर्भाशयभित्र गर्भधारण प्रविधि भन्नाले मानव शुक्रकीट विशेष तवरले सफा गरी छानेर महिलाको पाठेघरमा राखिन्छ । आईयुआई प्रविधि बारे स्त्री विशेषज्ञ डा. असिम अधिकारीले भने– ‘पुरुषबाट लिएको शुक्रकीटलाई मिडियामा राखेर सफा गरिन्छ । त्यसबाट काम लाग्ने र नलाग्ने शुक्रकीट छानेर अलग गरिन्छ । काम लाग्ने ०.५ देखि ०.७ एमएल मात्र हुन्छ ।’
महिलाको हरेक महिना २ वटै डिम्वशायमा ७ देखि १० वटा अण्डाहरू आउने गर्छन् । ती मध्ये एउटा मात्रै अण्डा झरेर अण्डा बाहिनी नलीमा जाने गर्छ । ‘अण्डा निस्किने समयको मौका छोपेर पुरुषको सफा गरिराखिएको शुक्रकीटलाई महिलाको पाठेघरमा लगेर छोडिदिने हो । गर्भ बस्यो, बसेन भनेर २ हप्ता पछि पिसाब वा रगतबाट जाँच गरिन्छ’, डा. अधिकारीले भने ।
‘आईभीएफ’ (ईन्भेट्रो फर्टिलाइजेशन्) अर्थात् मानिसको शरीर बाहिर भ्रूण तयार पारी मानव पाठेघरभित्र प्रत्यारोपण गरिने प्रविधि हो । यसलाई नै टेष्ट्युव बेबी भनिन्छ ।
यो प्रविधि बारे डा. अधिकारीले भने- ‘महिलाको अण्डा ७ देखि १० वटा मध्ये एउटा मात्रै अण्डा बाहिनी नलीमा झर्ने गर्छ, अरू सबै खेर जान्छन् । अण्डा बाहिनी नलीमा झरेको बेला शुक्रकीट भेटे मात्रै बच्चा हुने हो । नभए दुई हप्ता पछि महिलाको महिनावारी सुरु हुन्छ । हामीले गर्ने भनेको यही खेर जाने मध्येको अण्डा झिकेर छानिएको शुक्रकीटसँग मिलाएर महिलाको पाठेघरमा राख्ने हो । यो प्रविधि ५० देखि ६० प्रतिशत सफल हुने गर्दछ ।
एक महिलाको महिनावारी जहिलेदेखि सुरु हुन्छ, त्यो नरोकिँदासम्म अण्डाहरू उत्पादन भई रहन्छन् । उमेर बढ्दै जाँदा अण्डा उत्पादनमा केही कमी भने हुँदै जान्छ । यो प्रविधिबाट जन्मिएका बच्चाको स्वास्थ्य, मानसिक रूपमा स्वस्थ्य हुन्छन् । यस्ता निःसन्तानको समस्या १५ प्रतिशत पति–पत्नीमा रहेको डा. अधिकारीले बताए ।
यो प्रविधि नेपालमा २०६१ सालमा पहिलो पटक ॐ अस्पतालमा सफल सुरुवात भएको थियो । तर, त्यतिबेला कानुनी स्पष्टता थिएन । संघीय संसदले जनस्वास्थ्य सेवा ऐन–२०७५ ऐन जारी ग¥यो । उक्त ऐन अनुसार नेपालमा निःसन्तान व्यवस्थापन सेवा दिन फर्टिलिटी सेन्टरहरू सञ्चालनमा आएका छन् ।
सफा गरिएको शुक्रकीटको आयु वर्षौँ हुन्छ । कुनै पति, पत्नी कामकाजले छुट्टा–छुट्टै देशमा रहन सक्छन् । भिसा, कानुनी र कामको प्रकृति अनुसार भेट नहुन सक्छ । भेट हुँदा साथ गर्भ बसिहाल्छ भन्ने पनि हुँदैन । तर बच्चा बनाउने रहर हुन्छ । यस्तो अवस्थामा पुरुषले आफ्नो शुक्रकीटलाई फर्टिलिटी सेन्टरको ल्याबमा फ्रिजिङ्ग गरेर गएमा, श्रीमती कुनै पनि समयमा आएर आफ्नो अण्डा झिकेर त्यो पतिको फ्रिजिङ्ग शुक्रकीटमा मिलाएर भ्रूण तयार गरी त्यो भ्रूण आफ्नो गर्भाशयमा राखेर बच्चा जन्माउन सक्छन् त्यो व्यवस्था समेत यो प्रविधिले सहज बनाई दिएको छ ।
के हो महिलाको अण्डा ‘तस्करी विवाद ?’
एक वयस्क महिलाको महिनावारी सुरु भएपछि अण्डाशयले बच्चा बनाउने अण्डा उत्पादन गर्ने गर्दछ । महिनावारी भएको दोस्रो, तेस्रो दिनबाट १० दिनसम्म हार्मोनको सुई लगाई खेर जाने अण्डालाई विकास गरिन्छ । विकास भएको अण्डालाई १२ औँ दिनमा झिकिन्छ । एक स्वस्थ्य व्यक्तिले रक्तदान जसरी गर्छन्, त्यही प्रकारले महिलाले अण्डा दान गर्न सक्दछन् । अण्डा दिने महिलाको स्वास्थ्यमा कुनै असर पर्दैन । यो प्रविधि अङ्ग दान होइन ।
अहिले महिलाको अण्डाको तस्करी गरिएको भन्ने आरोप गलत भएको डाक्टर अधिकारीले बताए । रक्तदान गर्दा जस्तै अण्डा दान गर्न आउने महिलाले म भर्जिन छैन , स्वस्थ्य छु र अण्डा दान गर्न मेरो सहमति छ भनी सहमति पत्र (कनसेन्ट पेपर)मा हस्ताक्षर गराइन्छ र चिकित्सकबाट अण्डा दानका लागि झिक्ने प्रक्रिया अगाडी बढ्छ । अण्डा दातालाई शारीरिक सम्बन्ध स्थापित भएको वा नभएको बारे सोधेर मात्रै अण्डा झिक्ने प्रक्रिया सुरु हुन्छ । शारीरिक सम्बन्ध स्थापना गरेको वयस्क महिलाको मात्र अण्डा दान लिइन्छ । दान गरेको अण्डा कसलाई दिइएको हो भन्ने कुरा अण्डा दान गर्ने महिला र लिने परिवार दुबैलाई जानकारी हुँदैन ।
रक्त दान गरेपछि रेडक्रसले एउटा जुस, स्याउ दिए जस्तै अण्डा दान गर्ने महिलालाई फलफूल किनेर खान र यातायात खर्च भनेर सरदर ५० हजार रुपैयाँ दिइने गरिन्छ । त्यो रकम अण्डा बेचे बापत नभएको डाक्टर अधिकारीले बताए । कानुनी हिसाबले अण्डा रगत जस्तै किनबेच गर्न नमिल्ने अधिवक्ता तेज बस्नेतले बताए । त्यो ५० हजारसहित बच्चा जन्माउने परिवारले आई.भि.एफ. का लागि ४ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । जुन स्वास्थ्य सेवा दिने संस्थाले वैधानिक रूपमा कर तिरेर बिल नै दिन्छन् । फर्टिलिटी सेन्टरहरूको दर रेट सहितको रिपोर्ट अहिले स्वास्थ्य मन्त्रालयलाई त्रैमासिक रूपमा बुझाइन्छ ।
नेपालमा आई.भि.एफ. बढी हुने कारण वैदेशिक रोजगारीको पनि हो । वैदेशिक रोजगारीमा जानेहरूको पति पत्निबीचको भेटघाटमा लामो समय लाग्ने गरेको छ । अर्को उनीहरूले विदेशमा आई.भि.एफ. गर्दा २० लाख रुपैयाँ भन्दा बढी लाग्ने गर्दछ जब कि नेपालमा जुनसुकै आई.भि.एफ. ले बढीमा ४ लाखमा आई.भि.एफ. गर्ने गर्दछन् ।
पछिल्लो पटक फर्टिलिटी सेन्टरहरूलाई महिलाको अण्डा तस्करी गरेको आरोप लागेको छ । नाबालिगको अण्डा झिकेर २० लाख रुपैयाँमा तस्करी गरेको आरोप केही समय अघि सेन्टरहरूलाई लाग्यो । निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड-२०८२ जारी हुनअघि सम्म १६ वर्षको वयस्क युवा युवतीले आफ्नो सहमति छ भनी सहमति पत्र (कन्सेन्ट पेपर)मा हस्ताक्षर गरेपछि अण्डा दान लिन मिल्थ्यो । सेन्टरहरूले उक्त प्रक्रिया मेडिकल काउन्सिलको आचार संहिता बमोजिम गरिएको दाबी गर्दै आएका छन् ।
लेखक: अप्सरा विष्ट
स्रोत: नेपाल प्रेस
मिति: २०८२ कार्तिक २६ गते १८:५८
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
