१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि

काठमाडौँ । पर्यटकीय नगरी सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्डले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी पुस ११ देखि १३ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका महासचिव महेश खनालले रत्ननगर नगरपालिकाको संरक्षकत्व तथा संघको आयोजनामा आयोजना हुने महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने जानकारी दिए ।
उनले सौराहामा दुई दशक अघिदेखि आयोजना हुँदै आएको हात्ती महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि भई चितवनका पर्यटकीय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको समेत बताए ।
उनले डिजिटल प्रविधिबाट कार्यक्रमहरूको प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षदेखि वन्यजन्तु तथा वातावरणमैत्रीको लागि प्रकृति अनुकूल स्टल र स्टेजहरू निर्माण गरिने समेत जानकारी गराए । उनले बहुलजाती, बहुभाषा र कला संस्कृतिको प्रवर्द्धन गर्दै भविष्यको संरक्षण समेत महोत्सवको विशेषता रहेको बताए ।
करिब ८० वटा हात्तीहरू द्वारा शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको अंगार प्रतियोगिता कार्यक्रम स्थलमा लाईभ हात्ती माउते द्वारा हात्तीलाई स्केच, चकले हात्तीलाई शृङ्गार पटार गरिने, हात्तीको स्वास्थ्य शिविर लगायत महोत्सवका आकर्षणहरू रहेको खनालको भनाइ छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
