अत्तरियामा डिडिसी र वडा कार्यालयमा तालाबन्दी

कैलाली, पुस १५ गते । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीयले डिडिसी अत्तरियाबाट धनगढी सार्न थालिएपछि अवरोध गर्दै डिडिसी र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
लामो समयदेखि डिडिसी अत्तरियाबाट सार्न नहुने भन्दै आन्दोलन गरिरहेका स्थानीले एकाएक डिडिसीमा जडान भएका उपकरण सार्न थालिएपछि विरोध जनाउँदै सार्ने काम रोकेका थिए । स्थानीयले डिडिसीका उपकरण सार्नका लागि ल्याइएका क्रेन र ट्रकलाई समेत फिर्ता पठाएका छन् ।

दुग्ध विकास संस्थानका कार्यालयका प्रमुख निराञ्जन भट्टराइले डिडिसी कार्यालयका सामान सारिएको बताउँदै उद्योगका ठूला सामान सार्ने क्रममा स्थानीयले अवरोध गरेको बताउनु भयो । केन्द्रबाटै निर्देशन आएपछि आफूले सामान सार्न थालेको उहाँको भनाइ छ ।
गोदावरी नगरपालिकाका वडा १ का वडाध्यक्ष गोपाल दत्त भट्टले भने डिडिसी सार्न नहुने आफूहरूको पनि चाहना रहेको बताउँदै आफूहरूको पनि आन्दोलनमा ऐक्यबद्धता रहेको बताउनु भयो । आफूहरूले आवश्यक जग्गा उपलब्ध गराउनका लागि कागजात पठाएको भए पनि कुनै प्रतिक्रिया नदिएर अहिले सार्ने खोजिएको उहाँको भनाइ छ ।
स्थानीय तारा देवी महराले आफूहरूले विगत एक वर्ष देखि डिडिसी अत्तरियाबाट सार्न नहुने माग गर्दै सङ्घर्षका कार्यक्रम गरिरहेको भए पनि अहिले आएर एकाएक आफूहरूलाई जानकारी नै नदिएर डिडिसी सार्न थालिएपछि विरोध गरेको बताउनु भयो । उहाँले डिडिसीलाई अत्तरियाबाट सार्न नदिने बताउँदै डिडिसीको उत्पादन कक्षमा तालाबन्दी गरिएको बताउनु भयो ।
स्थानीयले डिडिसीको विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन र डिडिसीलाई अत्तरिया रोक्न वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेको भन्दै वडा नम्बर १ को कार्यालयमा पनि तालाबन्दी गरेका छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
