दबाबपछि ऊर्जामन्त्री कुलमान घिसिङद्वारा राजीनामा

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गर्नुभएको हो ।
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएका घिसिङ गएको भदौ ३० गते मन्त्री नियुक्त हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भएपछि उहाँलाई वर्तमान गैरदलीय सरकारबाट राजीनामा दिन दबाब बढेको थियो ।

मन्त्री पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले पदमा रहँदा देश र नागरिकलाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताउनुभयो । आफूले लिएको राजीनामाको निर्णय जिम्मेवारीबाट विमुख हुने प्रयास नभई आत्मसम्मान, नैतिककता, सिद्धान्त र नागरिकप्रतिको प्रतिबद्धताको निरन्तरता भएको उहाँको भनाइ छ ।
घिसिङले उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि सहमति अहिलेसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको बताउनुभयो । आफ्नो समर्थन र सद्भाव रहँदारहँदै पनि अहिलेसम्म कुनै राजनीतिक पार्टीका सदस्यता नलिएको उहाँको दाबी छ । घिसिङले अब आफ्नो सक्रिय राजनीतिक जीवन शुरू हुने जानकारी पनि दिनुभएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
