इनिसा हत्या प्रकरण : अत्यधिक रक्तश्रावका कारण निधन, घटना अनुसन्धान गर्न विज्ञ टोली खटियो

सुर्खेत । इनिसा विकको मृत्युको कारण पत्ता लगाउन विज्ञ टोली खटाइएको छ । घटनाको सूक्ष्म अध्ययनका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट पोलियोग्राफी गर्न विज्ञ टोली परिचालन गरिएको हो ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी १६ वर्षीया इनिसाको सामूहिक बलात्कारपछि हत्या गरिएको आफन्तको दाबी छ । फागुन २३ गते बिहान वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा इनिसाको शव फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धान गर्न केन्द्रीय सिआइबीको टोली हवाईमार्ग र पोलियोग्राफी टोली स्थलमार्गबाट बिहीबार सुर्खेत आइपुगेको सुर्खेतका डिएसपी सुधिरराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोलियोग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने गर्दछ । त्यस्तै, घटनाको थप अनुसन्धानका लागि पीडित र पीडक दुवै जनाको मोबाइल लगायतका विद्युतीय सामग्रीहरू अनुसन्धानका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको उहाँले बताउनुभयो ।

‘मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरू अनुसन्धानका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ’ उहाँले भन्नुभयो, ‘पोष्टमार्टम रिपोर्ट, पोलियोग्राफी, कल डिटेल लगायतका सबै पक्षलाई केलाएर घटनाको अनुसन्धान भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता तथा डिएसपी मोहनजंग बुढथापाका अनुसार सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । ‘फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको देखिन्छ’, उहाँले भन्नुभयो, ‘सिसिटिभी फुटेजका आधारमा २३ गते बिहान शहीद पार्क घुम्न जाने पूर्व-सल्लाहअनुसार उहाँहरू पार्क नजिकैको जंगलमा गएको देखिएको छ ।’
अत्यधिक रक्तश्रावका कारण निधन
भेरी अस्पताल नेपालगञ्जले इनिसाको मृत्यु अत्यधिक रक्तश्रावका कारण भएको जनाएको छ । अस्पतालका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यका अनुसार पोष्टमार्टम रिपोर्टमा यौनांगको भित्री तथा बाहिरी भाग च्यातिएकाले अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको छ । ‘अत्यन्तै हिंसात्मक प्रकृतिको यौनसम्पर्क भएको देखिन्छ । सामूहिक बलात्कार भएको पुष्टि गर्ने तथ्य भने भेटिएको छैन’, उहाँले भन्नुभयो । पीडितको संवेदनशील अंग पूरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको डा. शाक्यले जानकारी दिनुभयो । कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीनजना चिकित्सकसहित डा. शाक्यले तयार पारेको पोष्टमार्टम रिपोर्टमा समेत सोही कुरा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
