मनोरञ्न

लालीबजार : वादी महिला र मातृशक्तिमाथि मर्मस्पर्शी कथावाचन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लामो अदालती झन्झटपछि रिलिज भएको फिल्म ‘लालीबजार’ले दर्शकको माया पाइरहेको छ । फिल्म हेरेका दर्शकहरू भावुक भएर हलबाट निस्किरहेको फुटेजहरू सञ्जालभरि छ्यापछ्याप्ती भेटिन्छन् ।

पक्कै पनि, ‘लालीबजार’ले दर्शकको संवेदनालाई सुस्तरी छोएर जान्छ । यसका केही कारण छन्,– पहिलो कारण हो एउटी निहत्था आमाको संघर्ष ।

बिज्ञापन

आफ्नो सन्तानलाई बलात्कारीको मुखबाट बचाउन आमाले गरेको संघर्षले दर्शकलाई भावुक बनाउँछ । सन्तानको लागि आमाले आफ्नो जीवन नै दाउमा राख्छिन् । पटक–पटक मृत्युको मुखमा पुगेर फर्किन्छिन् । सन्तानको लागि अपमान, घृणा र शारीरिक हिंसा सहन्छिन् ।

अनि अबोध छोरीलाई नयाँ चेतना र नयाँ जीवन दिन्छिन् ।

आमाको यही आरोह-अवरोहलाई दर्शकले आफूसँग रिलेट गर्छन् । आफ्नी आमालाई सम्झन्छन् । ‘लालीबजार’को शक्ति नै यही हो ।

‘लालीबजार’को कथा सुरु हुन्छ, २०४५ सालबाट । त्यतिबेला बर्दिया, कैलालीतिर रहेका वादी समुदायको कथामाथि निर्मित यो चलचित्रले वादी समुदायकी महिला मधुबालाको कथा भन्छ । मधुबालाबालाको चरित्र निर्वाह गरेकी छन्, अभिनेत्री स्वस्तिमा खड्काले ।

तपाईँलाई भनिहालूँ,- इतिहासदेखि नै यो समुदाय वाद्यवादन, लोकगीत र नृत्यमा पारंगत छ । मादल, दमाहादेखि काठसँग जोडिएका जति पनि बागागाजा बन्छन्, ती सबैमा यो समुदायका कलाकारहरूको कला मोहरिएको हुन्छ । तर, यो समुदायले इतिहासमा यौन शोषणको डरलाग्दो श्रृङ्खला पनि भोगेर आएको छ ।

त्यही यौन शोषणको श्रृङ्खलालाई देखाउँदै ‘लालीबजार’ सामाजिक न्यायको पक्षमा उभिएको फिल्म हो ।

यो फिल्म मधुबालाको वरिपरि घुमेको छ ।

मधुबाला, जो घरको आयस्रोतको खम्बा हुन् । उनको यौन पेशाबाट प्राप्त आम्दानीकै कारण घरको चुल्हो बलेको छ । उसकी भाइ मदन वादी जँड्याहा छ । आमा बिरामी छन् ।

घरको मूल खाँबो रहेकी मधुबालालाई आफूले अपनाएको पेशा मन परेको छैन । तर, जाने ठाउँ पनि त कतै छैन ! अहिले त रुढीवादले ग्रस्त छ हाम्रो समाज । २०४५ सालतिर झनै कस्तो थियो होला ?

जे जस्तो भए पनि घर चलाइरहेकी मधुबालाको जीवनमा प्रेमको सुवास लिएर एक हुलाकी आउँछन्, नारायण पन्थी ।

तर, उनीहरुको प्रेम लामो समय टिक्दैन । समाजले उनीहरुको प्रेमको कोपिला निमोठिदिन्छ । यसपछि मधुबालाका कठिन दिनहरू सुरु हुन्छन् ।

नारायण र मधुबाला छुट्टिन्छन् । मधुबाला लालीबजारमै फर्किन्छिन् । मधुबालाको पेटमा नारायणको बच्चा हुर्किरहेको हुन्छ ।

गाउँमा सामन्ती राजा साहेबको जगजगी हुन्छ । रवीन्द्र सिंह बानियाँले निर्वाह गरेको राजा साहेबको पात्रले गाउँमा आतंक मच्चाएको हुन्छ । हत्या, हिंसा र बलात्कार उसका लागि सामान्य हो ।

पछि मधुबालाले छोरी जन्माउँछे । छोरी अलि ठूली भएपछि उसको नत्थी छेड्ने कुरा हुन्छ । गाउँमा राजा साहेबले मन परेका बालिकाहरूको नत्थी छेडिदिन्छन् । यसको अर्थ हो, किशोरी भएपछि ती बालिकाले आफ्नो शरीर राजा साहेबलाई चढाउनुपर्छ । यद्यपि, सबै वादी समुदायमा यस्तो प्रथा थिएन भन्ने अध्येताहरूको भनाई छ ।

मधुबालाकी छोरीको नत्थी राजा साहेबले छोडिदिन्छ । यसको अर्थ हो,– छोरीमाथि अब बाबु साहेबको हक लाग्ने भयो । यसबेला नारायण पन्थीले विरोध गर्छ । उसलाई बाबु साहेबको मान्छेले पक्रेर लगेर बाँध्छन् ।

केही समयपछि नारायण पन्थी झुण्डिएको अवस्थामा फेला पर्छ । उसको मृत्यु आत्महत्या हो वा हत्या, खुलाइएको छैन । तर, यसपछि मधुबाला बदलिँदै जान्छिन् ।

छोरीलाई स्कुल पठाउँछिन् । हुर्काउँछिन् । छोरीका लागि पेशा नै परिवर्तन गर्छिन्, गिटी कुट्छिन् । उनमा चेतना बढ्दै जान्छ । र अन्तमा राजा साहेबको ओछ्यानमा छोरी जिम्मा नलगाउने निर्णयमा पुग्छिन् । मधुबाला यसमा सफल हुन्छिन् त ? यही प्रश्नको उत्तर खोज्दै ‘लालीबजार’ अगाडि बढेको छ ।

यो फिल्मको सबैभन्दा ठूलो तागत हो, स्वस्तिमाको अभिनय । दर्शकले उनको अभिनयमा निखारता आएको महसुस गर्छन् ।

रवीन्द्रसिंह बानियाँको अभिनयमा पनि प्राकृतिक स्वाद भेटिन्छ । बानियाँले जहिल्यै काँधमा भिर्ने बन्दुक पनि फिल्मको अर्को पात्र हो । यो बन्दुक राजा शाहेबको आतंकको चिनारी हो । यो बन्दुक सामन्ती प्रथाको चिह्न हो । यही बन्दुक शोषकको समाप्तीको साक्षी पनि हो । यो बन्दुक चलाउन राजा शाहेबले जसलाई सिकाएका हुन्छन्, उसैले राजा शाहेबको छातीमा गोली दाग्दिन्छिन् ।

फिल्मलाई साँच्चै बलियो बनाउने अर्को पात्र हुन्, कोठारी । मुकुन्द कुमार श्रेष्ठले निर्वाह गरेको यो पात्र वास्तवमै गज्जबको छ ।

फिल्मको अर्को शक्ति सिनेम्याटोग्राफी पनि हो । बडो कलात्मक सटहरुले फिल्मलाई हेर्नलायक बनाएको छ । एउटा दृश्यमा कोठारीले बाबु साहेबलाई सबैकुरा छाड्न सम्झाइहरेको हुन्छ । उसले यस्तो समयमा सम्झाइरहेको हुन्छ, जहाँ क्षितिजमा घाम डुब्न लागेको हुन्छ । यता माओवादी जनयुद्ध देशभर फैलिन सुरु गरेको हुन्छ । शोषक र सामन्तको समाप्तिलाई इंगित गर्नलाई डुब्न लागेको घामभन्दा सुन्दर दृश्य अर्को हुनै सक्दैन ।

२०४५–५० सालको समय देखाउन डिटेलिङमा पनि काम गरिएको छ । लालटिनको प्रयोग गरिएको छ । मधुबालाको कोठामा ज्याकी श्राफहरुको पोस्टर राखिएको छ । जब मधुबालाले यौन पेशा छाड्छिन्, पोस्टरको ठाउँ पत्रिकाहरूले लिएको छ ।

‘लालीबजार’ले वकालत गरेको गज्जबको विषय चाहिँ मातृसत्ता हो । आदिवासी जनजातिमा सघन रूपमा देखिने मातृसत्तालाई फिल्मले सुन्दर ढंगले देखाएको छ । मधुबालाकी भाइ मदनलाई फिल्मको बीचतिर सुध्रिन कोसिस गरेको देखाइएको छ, तर राजा साहेबसँगको लडाइँ मधुबाला एक्लै लड्छिन् । मधुबालाको यो लडाइँमा मदनको हिरोगिरी नदेखाइदिएर निर्देशक यम थापाले शानदार काम गरेका छन् । किनभने राजा साहेब त सत्ता हो, जसको विरुद्ध एक लडाकु र विद्रोही महिलालाई उभ्याइदिएका छन् । किनभने उमा वादी जस्ता महिलाहरुले संसदको गेटमा अर्धनग्न बसेर विद्रोहको संखघोष गरेका थिए । तर, उमा वादीहरुले गरेको विद्रोहको तापको छेउछाउ भने ‘लालीबजार’ पुग्न समेत सकेको छैन ।

आमाको नामबाट छोरीलाई स्कुलमा भर्ना हुन नदिइएपछि मधुबालाले चिनेजानेका सारा ग्राहकहरुलाई आग्रह गर्छिन् । तर, कोही तयार हुँदैनन् । हाम्रो समाजमा महिलालाई हेर्ने नजरिया र पितृसत्ताको दुर्गन्ध मधुबालाले छोरीको स्कुलका लागि गरेको संघर्षमा देखाइएको छ ।

अन्तिममा मधुबालाकी भाइ मदनले दिदीलाई जबरजस्ती करणी गरेको भन्न लाएर भान्जीको जिम्मा लिन खोज्छन् । यो तहकै बिजोग चाहिँ नदेखाइदिएको भए हुन्थ्यो । यद्यपि कतैबाट पार नलागेपछि मान्छे यो हदसम्म जान सक्छ भनेर निर्देशकले देखाउन खोजेका हुन सक्छन् ।

फिल्मको एउटा दृश्यमा भाइ जँड्याहा छ, आमा बिरामी छन्, मधुबाला गर्भवती हुन्छे । घरमा आम्दानीको नाममा केही हुँदैन । यस्तो बेला पनि मधुबालाकी आमाले आफूलाई नखुवाएरै मार्ने भयो भनेर गुनासो गर्छे । सबै हाल बुझेकी एउटी आमा यति निर्दयी र कठोर हुन सक्छे र ?

फिल्ममा सबैभन्दा चसक्क बिझाउने चाहिँ उमेरको फरक हो । मधुबालाकी छोरी एसईई दिने भइसक्छे । तर, मधुबालाको उमेरमा कुनै रुपान्तरण देखिँदैन । राजा साहेब पनि उस्तै देखिन्छन् । यहाँ कथाले पात्रहरुमा उमेरमा आएको वदलाव हेर्न खोजेको छ, तर देखाइएको छैन ।

उता बच्चा बेलामा छोरीको नथिया छेडिन्छ, तर छोरी एसईई दिने बेलामा भने छोरीको नाकमा प्वाल नै हुँदैन । ब्याकग्राउण्ड म्युजिक गज्जबको छ । तर, त्यो म्युजिकमा मादल, तबलाहरु प्रयोग हुनुपथ्र्यो । किनभने वादी समुदायको पहिचान यस्तै बाजागाजासँग जोडिएको छ । समग्रमा छोरीका लागि मधुबालाले गर्ने संघर्षले दर्शकलाई च्वास्सै छुन्छ ।

नारायणले काँधमा राखेर भगाउँदै गरेकी सानी छोरी र मधुबालाले काँधमा राखेर भगाउँदै गरेकी ठूली छोरी, मधुबालाले कोरीबाटी गरिदिएकी सानी छोरी र मधुबालालाई कोरीबाटी गरिदिन सक्ने भएकी ठूली छोरीका दृश्यहरुले दर्शकलाई भावनात्मक रूपमा जोड्छ ।

बजारमा हल्ला चले जस्तो ‘लालीबजार’ले वादी समुदायलाई बदनाम गरेको देखिँदैन । बरु समय सँगसँगै वादी समुदायमा आएको परिवर्तनलाई मसिनो गरी देखाइएको छ । आजको वादी समुदायको प्रतिनिधित्व मधुबालाहरुले होइन, मधुबालाहरुको त्याग र संघर्षको रापमा शिक्षाको उज्यालो पाएका मधुबालाकी छोरीहरुले गर्छन् भन्ने कुरा देखाइएको छ । र आजका डाक्टर रोशनी नेपाली वादीहरु मधुबाला होइनन्, मधुबालाहरुले हुर्काएका छोरीहरु हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।