राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजदेखि पुनः सञ्चालनमा ल्याएको छ । प्राविधिक समस्याका कारण विगत १० दिनदेखि उक्त सेवा अवरुद्ध रहेको थियो ।

विभागका निर्देशक कमलप्रसाद पाण्डेले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण यही वैशाख २१ गतेदेखि सेवा प्रभावित भएको बताए । उनका अनुसार मर्मत कार्य सम्पन्न भएसँगै आजदेखि सेवा पुनः सुचारु गरिएको हो ।

विभागले आज जारी गरेको सूचनामा नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएको उल्लेख गर्दै हाल उक्त समस्या समाधान गरिएको जनाएको छ ।

प्राविधिक अवरोधका कारण सेवाग्राहीले राष्ट्रिय परिचयपत्रसम्बन्धी विभिन्न सेवा लिन कठिनाइ भोग्दै आएका थिए । सेवा पुनः सञ्चालनमा आएपछि अब नियमित कामकाज सहज हुने विभागले जनाएको छ ।


