टीकापुर अस्पतालका लागि ५ करोड, विज्ञान तथा प्रविधि विश्वविद्यालयको बाटो खुल्यो

टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत टीकापुरको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि महत्वपूर्ण योजनाहरू अघि सारेको छ। अस्पतालको स्तरोन्नतिदेखि विश्वविद्यालय स्थापनासम्मका योजनाले स्थानीयवासीमा नयाँ आशा जगाएको छ।

नीति तथा कार्यक्रमअनुसार टीकापुर अस्पतालमा अत्याधुनिक अस्पताल भवन निर्माणका लागि बहुवर्षीय आयोजनाअन्तर्गत ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै अस्पतालको सेवा क्षमता विस्तार गर्दै १०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिने व्यवस्था पनि गरिएको छ।

प्रदेश सरकारले अस्पतालमा हेमोडायलाइसिस तथा सिकलसेल उपचार सेवा विस्तार गर्ने योजना पनि अघि सारेको छ। यसबाट टीकापुरसहित कैलाली र आसपासका जिल्लाका बिरामीले सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

शिक्षा क्षेत्रतर्फ लामो समयदेखि उठ्दै आएको मागलाई सम्बोधन गर्दै ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय’ स्थापनासम्बन्धी विधेयक प्रदेश सभामा टेबल गरिएको छ। विश्वविद्यालय स्थापना प्रक्रियाले सुदूरपश्चिममा उच्च शिक्षा र अनुसन्धानका नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
प्रदेश सरकारको यस निर्णयप्रति टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीसहित स्थानीयवासीले स्वागत गरेका छन्। स्वास्थ्य र शिक्षाको पूर्वाधार विकासका लागि सरकारले चालेको कदमले टीकापुरको समग्र विकासमा सकारात्मक योगदान पुग्ने उनीहरूको विश्वास रहेको छ।


