कार्यालय समयमा निजी क्लिनिक जान सेती प्रादेशिक अस्पतालका चिकित्सकलाई रोक

धनगढी, २१ साउन । सेती प्रादेशिक अस्पताल, धनगढीले अस्पतालमा कार्यरत चिकित्सकहरूलाई कार्यालय समयभित्र निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा सेवा दिन नपाइने व्यवस्था लागू गरेको छ।
अस्पताल प्रशासनले जारी गरेको निर्देशनअनुसार सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले तोकिएको कार्यालय समय पूर्ण रूपमा अस्पतालमै उपस्थित भई बिरामीको उपचार सेवामा केन्द्रित हुनुपर्नेछ। कार्यालय समयमै निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा गई सेवा प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा रोक लगाइएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार बिरामीले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको, चिकित्सक कार्यालय समयमा अनुपस्थित हुने गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो। नयाँ व्यवस्थाले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, नियमित र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।
निर्देशनको पालना गर्न सम्पूर्ण चिकित्सकलाई आग्रह गर्दै अस्पतालले कार्यालय समयको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन तथा प्रशासनिक व्यवस्था अनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ।
अस्पतालको यो निर्णयसँगै कार्यालय समयमा चिकित्सकको नियमित उपस्थितिको सुनिश्चितता हुने र सरकारी स्वास्थ्य सेवाप्रति सेवाग्राहीको विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
