कृषि

‘अफ्रिकन स्वाईन फिभर’द्वारा मरे तीन सय बंगुर

बिज्ञापन

वालिङ, कात्तिक १५ गते । स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १४ मा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो । यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो ।   

बिज्ञापन

फिभरका कारण पुतलीबजारका झण्डै तीन सय भन्दा धेरै बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले जनाएको छ । 

तीन सय वटा बंगुर मरेको भन्दै रिपोर्ट आएपछि ‘ल्याब परीक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पुष्टि भएको डा. इन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । 

एक महिनादेखि यो रोगको सङ्क्रमण देखिन थालेको प्राविधिक डाक्टर भट्टको भनाइ छ । बंगुर झोक्राउने, खाना खान रुचि नदेखाउने, ज्वरो आउने, शरीरमा ढब्बा तथा निलो दागहरू देखिने, नाक र मुखबाट रगत/पानी/ र्‍याल बग्ने लक्षण सङ्क्रमित बंगुरमा देखिएको प्राविधिकको भनाइ छ । 

सरुवा रोग भएकाले सङ्क्रमित बंगुरलाई छुट्टै राख्ने, होटल तथा बाहिरबाट ल्याएका खानेकुरा राम्ररी पकाएर खान दिने र बंगुरको स्याहारसुसार गर्ने, दानापानी दिने व्यक्ति पनि सुरक्षित हुनुपर्ने डाक्टर भट्टको भनाई छ । यो सङ्क्रमणबाट मरेको बंगुरलाई सही तरिकाले व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । 

भाडामा जग्गा लिएर बंगुर पाल्दै आएका पदम गन्धर्वले आफूले पालेका ४९ वटा बंगुर मरेको बताउनुभयो । माउ र पाठापाठीसहित धमाधम बंगुर मर्न थालेपछि हजारौँ रुपियाँ बराबरको क्षति भएको छ ।

यस्तै, विभिन्न व्यक्तिहरूले व्यक्तिगत तथा सामूहिक रूपमा फार्ममा पाल्दै आएका बंगुरहरु मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार मरेका बंगुरहरुलाई स्थानीयस्तरमा नै खाल्डो खनेर पुरिएको छ । 

किसानले पालेका बंगुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो गिरीले भन्नुभयो । 

यसको कुनै उपचार विधि तथा भ्याक्सिन नभएको भन्दै गिरीले, सङ्क्रमण फैलिएको स्थानमा आवतजावत गर्दा चुना र ‘भिरकोन’ छर्किने, मरेका बंगुरलाई खाडल खनेर गाड्नुपर्ने उहाँको भनाइ छ । 

बिज्ञापन