सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, जेठ २८ गते। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा छलफल जारी रहेको छ। 

प्रदेश सभामा नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यले बोल्नेक्रम जारी छ। आइतबार बसेको प्रदेश सभामा नीति तथा कार्यक्रममा भाग लिनुहुँदै प्रदेश सभा सदस्यले मिश्रित प्रतिक्रिया दिनुभएको हो। 

बिज्ञापन

सत्तापक्षका प्रदेश सभा सदस्यले सरकारको वार्षिक नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको उल्लेख गर्दै राम्रो भएको दाबी गर्नुभयो। प्रतिपक्षबाट बोल्ने प्रदेश सभा सदस्यले भने नीति तथा कार्यक्रम कर्मकाण्डी भन्दै विरोध गर्नुभएको छ। 

सत्तापक्षबाट प्रतिनिधित्व गर्नुहुने डम्मरी महराले नौ जिल्लाको विकास हुने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो। उहाँले जसको कोही छैन, त्यसको लागि प्रदेश सरकार रहेको भावना जागृत गराउने गरी काम गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। 

त्यस्तै, अक्कलबहादुर रावलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरै महत्वकाङ्क्षी नभइ समग्रमा ठिक रहेको बताउनुभयो। सरकारले अब नाराभन्दा पनि प्रतिफलतिर ध्यान दिनु आवश्यक रहेको उहाँको भनाइ थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य वीरबहादुर थापाले सरकारको नीति तथा कार्यक्रम विगतको निरन्तरता रहेको उल्लेख गर्दै कर्मकाण्डमात्रै पूरा गरेको जिकिर गर्नुभयो। 

नीति तथा कार्यक्रममा नयाँ दृष्टिकोण नदिइएको र नीति तथा कार्यक्रम आएपछि जनतामा उत्साहको सट्टा निरासा छाएको बताउनुभयो। सत्तापक्षकै प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रमलाई मन नपराएको उहाँको भनाइ थियो। 

सत्तापक्ष नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्त्व गर्नु हुने प्रदेश सभा सदस्य खुशीराम डङ्गौरा थारुले नीति तथा कार्यक्रममा अधिकतम सुन्दर पक्ष रहेको भन्दै समर्थन गर्नुभयो। पछाडि रहेको क्षेत्र, समुदायलाई विकासको मूलधारमा ल्याउने नीति तथा कार्यक्रम आएको उहाँको भनाइ थियो। 

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधित्त्व गर्नुहुने प्रकाशबहादुर रावलले नीति तथा कार्यक्रमले समग्रमा सबै कुरालाई छोएको उल्लेख गर्नुभयो। यसभित्र रहेका स्रोत र साधनलाई व्यवस्थापन गर्न सकेमा सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ थियो। 

यसैगरी, नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओलीले नीति तथा कार्यक्रमले सुदूरपश्चिमका जनतामा आशा बढाएको बताउनुभयो। सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको भन्दै उहाँले यसलाई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिनुभयो। 

नीति तथा कार्यक्रममाथि छलफलमा मानबहादुर रावल, निर्मलादेवी साउद, लक्ष्मी विक, चक्रबहादुर मल्ल, लक्ष्मणकिशोर चौधरी, जुनाकुमारी दानी, निर्मला साउद, शिवराज भट्ट, सुरेन्द्रबहादुर पाल, सरस्वती खड्का, ललिता सुनार, तुल्सी देवकोटा र प्रकाशबहादुर बमले भाग लिनुभएको थियो। 

यसैगरी, सुदूरपश्चिम प्रदेशको लोगो संशोधन समिति गठन भएको छ। प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा समिति गठन भएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। 

प्रदेशको नाम खप्तड-थरुहट राखौं

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमको नाम खप्तड–थरुहट राख्न सुझाव दिनुभएको छ।

 प्रदेशको लोगो संशोधन समितिका सदस्यसमेत उहाँले लोगो संशोधनमात्रै नभइ प्रदेशको नाम पनि फेर्न आवश्यक रहेको बताउनुभयो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।