सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन नपाउने प्रस्ताव

काठमाडौं । अबदेखि सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने भएको छ । निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्तिलाई समेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ ।
‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनका लागि अयोग्य हुने प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधेयकमा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्याएको व्यक्ति उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ । यस्तै, प्रचलित कानुन बमोजिम कर भुक्तानी नगरेको व्यक्ति पनि निर्वाचनका लागि अयोग्य हुनेछन् ।
सोमबार आयोगको बैठकले निर्वाचन व्यवस्थापनसम्बन्धी छरिएका कानुन एकीकरण तथा पछिल्लो समय चुनावका क्रममा उठेका कानुनी अस्पष्टतालाई स्पष्ट गरेर एकीकृत कानुनको विधेयक स्वीकृत गरेको छ ।
विधेयक गृह मन्त्रालयमार्फत संसद्मा पेस हुने आयोगले जनाएको छ । दुवै सदनमा छलफल तथा संशोधन भई विधेयक पारित भएपछि मात्र ऐनका रूपमा लागू हुनेछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
