मनसुन नेपाल आउन अझै १० दिन लाग्ने

काठमाडौँ, जेठ १८ गते । यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्नेछ ।

उहाँले भन्नुभयो, “नेपाल भित्रने मनसुन अहिले भारतको केरला आसपास आइपुगेको छ । अबको १० दिनमा नेपाल भित्रन सक्ने सम्भावना छ ।”
गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो ।
गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछाने बताउनुभयो । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो ।
बङ्गालदेखि मेघालय हुँदै आसामतिर बाट मनसुन नेपाल भित्रने उहाँको भनाइ छ ।
मौसमविद् लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावक कारण कोशी, बागमती गण्डकी प्रदेशका केही भूभागमा बेलुकापख मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको पशिचमी भूभागमा भने पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । अहिले नेपालगन्ज आसपासको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौँ उपत्यकाको तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
