त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौँ — त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।

त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् ।

जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।
जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।


