अमेरिकाको भर्जिनियामा ममता काफ्ले ३ हप्तादेखि बेपत्ता, हत्या आशंकामा श्रीमान पक्राउ

काठमाडौं : अमेरिकाको भर्जिनियामा तीन हप्तादेखि बेपत्ता रहेकी ममता काफ्ले भट्टको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। हत्या आशंकामा प्रहरीले उनका पति नरेश भट्टलाई बिहीबार पक्राउ गरेको छ। हत्या गरेर शव बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।
भर्जिनियाको मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले अनुसन्धान अधिकारीहरूले निरन्तर छानबिन गरिरहेको बताएका छन्। तर, यस्तो अवस्थामा उनको मृत्यु हुनसक्ने प्रहरी प्रमुख मारियोको भनाइ छ।

प्रहरीका अनुसार २८ वर्षीया ममता काफ्ले गत २८ जुलाईमा अन्तिमपटक देखिएका थिए। त्यसको भोलिपल्ट २९ जुलाईमा उनको अन्तिमपटक पति नरेशसँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। नरेशले भने ३१ जुलाईमा अन्तिमपटक ममतालाई देखेको प्रहरीसमक्ष बयान दिएका छन्।
अनुसन्धान अधिकारीहरूले ममता काम गर्ने स्थानमा सोधीखोजी गरेपछि नरेशले तीन दिनपछि अगस्ट ५ मा ‘मिसिङ रिपोर्ट’ दर्ता गराएका थिए। छानबिनमा केही ‘क्लु’ नपाएपछि प्रहरीले नरेश बस्ने घरमा छामा मारेको थियो। त्यसलगत्तै प्रहरीले हतकडीसहित नरेशलाई पक्रेर लगेको थियो। उनको एक वर्षीय छोरीलाई भने सामाज सेवा विभागले जिम्मा लिएको छ।
ममताकी आमालाई आकास्मिक भिसा प्रदान गर्न काठमाडौंस्थित अमेरिकी दूतावासलाई अनुरोध गरिएको छ। ममताकी आमा अमेरिका आएपछि एक वर्षीया नातिनीको हेरचाहको जिम्मेवारी लिने बताइएको छ।
– एजेन्सीको सहयोगमा
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
