सुनकोशीमा गाडी खस्योः ३ जना वेपत्ता

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा हायस खसेको छ । खोटाङको हलेसीबाट भक्तपुरतर्फ जाँदै गरेको हाइलेक्स गाडी शनिबार साँझ साढे पाँच बजे सुनकोसी नदीमा खस्दा तीन जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार एक जना घाईते छन । घाईतको उपचार खुर्कोटमा भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार नदीमा वेपत्ता भएको गाडी ७ बजेतिर फेला परेको छ तर नदीमा वेपत्ता तीन जना फेला परेका छैनन ।

बेपत्ता हुनेमा भक्तपुरका अविन बाके, बलराम घटुवा र प्रनित स्यागु रहेको जानकारी आएको काफ्लेले बताए । गाडीमा सवार सूर्यविनायक नगरपालिकाको जगाती बस्ने सुसान्त कक्षपती भने पानीबाट पौडिएर निस्कन सफल भएका छन् । उनी घाइते छन् । घाइते कक्षपतीको पाता, कुहिनो र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएतले खोजी तथा उद्धारको काम गरिरहेका छन । घटना स्थलमा सशस्त्र प्रहरीको खुर्कोटस्थित गोताखोर टोलीले नदीभित्र यात्रुको खोजी गरेको छ ।
गाडी अनियन्त्रित भई सडकबाट खसेको अनुमान गरिएको छ । गाडी सडकबाट करिब ६० मिटर तल सुनकोशी नदीमा खसेको छ । नदीमा घुमाउने दह भएको र बाढी आएका कारण उद्धारमा कठिनाई भईरहेको स्थानीयले जनाएका छन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
