‘गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

कञ्चनपुर: गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ।
सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना गरेको हो । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताए।

गिद्ध बस्ने अग्ला सिमल, सखुवालगायत रुख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको बताए। ‘दशकअघि गिद्ध सहजै देखिने गरेका थिए’, उनले भने, ‘हाल गिद्ध देख्नै दुर्लभ भएको छ।’ वासस्थानको सुरक्षासँगै जनावरमा प्रयोग हुने घातक विषादीको प्रयोगमा कमी ल्याउनुपर्ने उनको भनाइ थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले गिद्धको सङ्ख्यामा कमी आउँदा हैजा, टाइफाइड, आउ, झाडापखालालगायत रोगको देखियो बताए। पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगाइए पनि अन्य गिद्धका लागि घातक मानिएका औषधिको प्रयोग नरोकिँदा चुनौती थपिँदै गएको उनले बताए।
चरा विज्ञ हिरुलाल डगौराले अव्यवस्थित विद्युतीय तारमा परेर गिद्धको मृत्यु हुने गरेको पाइएकाले नगरपालिकाले अव्यवस्थित विद्युतका तार व्यवस्थित गर्न अग्रसर हुनुपर्ने र अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धको उद्धार हुन नसक्दा मृत्यु हुने गरेको उल्लेख गरे। आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपाया गाड्ने चलनले गिद्धलाई खानाको अभाव हुँदै आएको उनको भनाइ छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
