सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका- १ कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ ।
मृतक यादव बीओपी बरहरीमा कार्यरत थिए । ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

उनका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको छ ।
भारतको विहारमा मदिरा प्रतिबन्ध छ । त्यसैले मधेश प्रदेशको सीमावर्ती क्षेत्रबाट मदिरा बिहार तस्करी हुन्छ । नम्बर नखुले पनि गाडी मदिरा तस्करी गर्ने नै रहेको स्थानीयको दाबी छ ।
तीव्र गतिमा आएके गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको छ । घटनापछि सीमा नाकामा सुरक्षा कडाइ गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
