अर्थ

टीकापुरमा व्यवसाय नवीकरणदेखि सम्पत्ति करसम्म जरिबाना छुट, पुस मसान्तसम्म अवसर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १० मंसिर । टीकापुर नगरपालिकाले नगर क्षेत्रका व्यवसायी तथा नगरवासीलाई विभिन्न करमा छुट दिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि लोककल्याणकारी सूचना तथा सन्देशमार्फत कर छुट तथा सहुलियतका कार्यक्रम सार्वजनिक गर्दै आगामी पुस मसान्तभित्र कर बुझाउन आग्रह गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश अवस्थीद्वारा जारी सूचनाअनुसार नियमित रूपमा नवीकरण नभएका व्यवसायले पुस मसान्तभित्र कर बुझाएमा आर्थिक वर्ष २०७५/७६ देखि मात्रै व्यवसाय कर तिरे पुग्नेछ । सोभन्दा अघिको व्यवसाय कर र सम्पूर्ण जरिबाना छुट गरिने नगरपालिकाले जनाएको छ ।

त्यस्तै, अन्य निकायमा दर्ता भएर टीकापुर नगरपालिकामा दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायले पनि पुस मसान्तभित्र दर्ता हुन आएमा चालु आर्थिक वर्ष २०८३/८४ को मात्र वार्षिक व्यवसाय कर तिरेर व्यवसाय दर्ता गर्न सक्नेछन् । नगरपालिकाले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी व्यवसाय नवीकरण तथा दर्ता गराउन आग्रह गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

नगरपालिकाले विगतमा निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गरेका वा अभिलेखीकरण भएका तर सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन तथा संरचनाको हकमा पनि विशेष छुटको व्यवस्था गरेको छ । पुस मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन तथा संरचनामा लागेको सम्पूर्ण जरिबाना छुट हुने सूचनामा उल्लेख छ ।

यसैगरी, पुस मसान्तभित्र सम्पत्ति कर र भूमिकर (मालपोत) बुझाउने करदाताले चालु आर्थिक वर्षको करमा १० प्रतिशत छुट पाउनेछन् । तर, असार मसान्तभित्र चालु आर्थिक वर्षको कर नबुझाएमा २० प्रतिशतका दरले जरिबाना लाग्ने नगरपालिकाले स्पष्ट पारेको छ ।

नगरपालिकाले घर निर्माण गर्दा भवन निर्माणसम्बन्धी मापदण्डअनुसार अनिवार्य रूपमा घरनक्सा पास अनुमति लिएर मात्रै निर्माण गर्न पनि नगरवासीलाई आग्रह गरेको छ । त्यस्तै, नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले घर, भवन, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूर्ण वा आंशिक रूपमा बहालमा दिएको भए सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी अनिवार्य रूपमा बहाल कर बुझाउनुपर्ने जनाएको छ ।

नगरपालिकाले तिर्नुपर्ने सम्पूर्ण कर तथा बाँकीबक्यौता चुक्ता नगरेसम्म नगरपालिकाको कार्यालय वा वडा कार्यालयबाट प्रवाह गरिने सेवा तथा सुविधा उपलब्ध गराउन नगरपालिका बाध्य नहुने बताएको छ ।

कर तिर्नु सबै नगरवासीको कर्तव्य र सेवा प्राप्त गर्नु अधिकार भएको उल्लेख गर्दै नगरपालिकाले समयमै कर बुझाएर जरिबानाबाट बच्न तथा जिम्मेवार नागरिकको परिचय दिन आग्रह गरेको छ ।

नगरपालिकाले मंसिर महिनाका लागि लोककल्याणकारी सूचना तथा सन्देश प्रवाह गर्न सञ्चारमाध्यमहरूलाई पठाएको सूचनामार्फत यी कर छुट तथा सहुलियतसम्बन्धी व्यवस्था सार्वजनिक गरेको हो । उक्त सूचना आर्थिक वर्ष २०८३/८४ का लागि सञ्चारमाध्यमसँग भएको सम्झौताअनुसार जारी गरिएको जनाइएको छ ।

बिज्ञापन