यस वर्ष धान उत्पादनमा नयाँ कीर्तिमान

काठमाडौं । यस वर्षको धान उत्पादनमा नयाँ रेकर्ड कायम हुँदै अहिलेसम्मकै सबैभन्दा बढी धान उत्पादन भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन धान फलेको छ । गत वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन मात्र फलेको थियो । गत वर्षको तुलनामा १८ हजार हेक्टर जग्गा घटे पनि ४ दशमलव ४ प्रतिशतले धानको उत्पादन बढेको छ । धान खेती गर्ने जग्गा घटे पनि उत्पादन बढेको आधारमा यस वर्ष ५ दशमलव ३८ प्रतिशत उत्पादकत्व वृद्धि भएको देखिएको छ ।

यस वर्ष मनसुन औसतभन्दा राम्रो भएको र धान काट्ने समयमा परेको अविरल वर्षाले धान बालीमा क्षति पुगे पनि उत्पादन बढेको भनाइ मन्त्रालयको छ ।
मन्त्रालयका अनुसार यस वर्ष वर्ष १४ लाख २० हजार हेक्टरमा धान खेती लगाइएको थियो । बाढीका कारण बाग्मती प्रदेशका जिल्लामा उत्पादन घटे पनि मधेस प्रदेशमा उत्पादन बढेकाले समग्र उत्पादन बढेको हो । यो वर्ष मधेस प्रदेशमा १० दशमलव ७० प्रतिशत धान उत्पादन बढेको थियो ।
यसैगरी, कर्णाली प्रदेशमा पनि १० दशमलव २५ प्रतिशत धान उत्पादन बढेको छ । सुदूरपश्चिममा ६ दशमलव १९ प्रतिशत उत्पादन बढेको छ । बाग्मती प्रदेशमा भने १ दशमलव १३ प्रतिशत घटेको थियो । यसैंगरी, गण्डकीमा सबैभन्दा बढी अर्थात् ३ दशमलव २२ प्रतिशत धान उत्पादन घटेको छ । कोशीमा २ दशमलव १६ प्रतिशत बढेको छ । लुम्बिनीमा पनि ४ दशमलव ६ प्रतिशत धान उत्पादन बढेको छ ।
यस वर्ष धान उत्पादन बढे पनि यो उत्पादनले राष्ट्रिय माग धान्न नसकिने बताइएको छ । मुलुकलाई कुल ७० लाख मेट्रिक टन धान आवश्यक रहेकामा यस वर्ष साढे ५९ लाख मेट्रिक टन मात्र उत्पादन भएको छ ।
यस वर्ष नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखा परेको र लमजुङमा धान बालीको क्षेत्रफलमा कमी हुँदा उत्पादन घटेको बताइएको छ ।
चालू आवमा मनसुन औसतभन्दा तीन दिनअगाडि सक्रिय भएको र सो अवधिमा औसत वर्षा गत आवको तुलनामा उच्च हुँदा वर्षेधान उत्पादनलाई सहयोग पुगेको मन्त्रालयले जनाएको छ। रासायनिक मल र उन्नत जातको धानको बीउ आयात गत वर्षको सोही अवधिको तुलनामा वृद्धि हुँदा पनि धान उत्पादन वृद्धि भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५–७६ मा ५६ लाख १० हजार ११ टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६–७७ मा एक प्रतिशतले घटेर ५५ लाख ५० हजार ८ सय ७८ टन उत्पादन भएको थियो । यसैगरी, आर्थिक वर्ष २०७७–७८ मा १ दशमलव २८ प्रतिशतले बढेर ५६ लाख २१ हजार ७ सय १० टन उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७८–७९ मा ८ दशमलव ७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६२५ टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९–८० मा ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको थियो ।
गत आर्थिक वर्षमा ४ दशमलव ३३ प्रतिशतले बढेर ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको थियो । समयमै भएको वर्षा, उन्नत बीउको प्रयोग र रासायनिक मलको सहजताले पनि यो सम्भव बनाएको दाबी मन्त्रालयको रहेको छ ।
यस वर्ष मधेसमा धान लगाएको क्षेत्रफल घटेको थियो । तर, धान उत्पादन र उत्पादकत्व बढेको छ । गत वर्ष मधेसमा ३ लाख ८३ हजार १ सय ८३ हेक्टर धान खेती गर्दा १३ लाख ३७ हजार ६ सय ७२ टन धान उत्पादन भएको थियो । यस वर्ष ३ लाख ७४ हजार १ सय १७ लाख हेक्टरमा खेती गरिएकामा १४ लाख ८० हजार ८ सय ३० टन धान उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ४९ टनबाट बढेर ३ दशमलव ९६ टन पुगेको मन्त्रालयले जनाएको छ ।
बाग्मतीमा वर्ष १ लाख २८ हजार ९ सय ३ हेक्टरमा धान खेती गरिएकामा ५ लाख ४ हजार ३ सय ४४ टन धान उत्पादन भएको थियो । यस वर्ष भने १ लाख २५ हजार १ सय ५७ हेक्टरमा सीमित भई धान उत्पादन पनि घटेर ४ लाख ९८ हजार ६ सय ६२ टनमा झरेको छ ।
गण्डकीमा पनि धान लगाएको क्षेत्रफल र उत्पादन घटेको छ । यहाँ पनि उत्पादकत्व बढेको छ । गण्डकीमा ९७ हजार ९ सय ५९ हेक्टरमा ३ लाख ७९ हजार ३२ टन धान उत्पादन भएको छ । गत वर्ष भने १ लाख १ हजार ९ सय २३ हेक्टरमा धान बाली खेती गर्दा ३ लाख ९१ हजार ६ सय २४ टन धान उत्पादन भएको थियो ।
धानको औसत मूल्य प्रतिकिलो ३२ रुपैयाँका दरले हिसाब गर्दा यस वर्ष १ खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपैयाँबराबरको धान उत्पादन भएको अनुमान रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
