घाँस काट्नगएकि महिलाको दुई दिनपछि शव फेला

हेटौंडा । घाँस काट्न गएपछि बेपत्ता एक महिलाको शव दुई दिनपछि सोमबार फेला परेको छ ।
राक्सिराङ गाउँपाालिका-६ कोलडाँडाकी ४८ वर्षीया सीतामाया घलानको शव सिलिङ सामुदायिक वनको भीरमुनि भेटिएको हो । गाईबस्तुलाई घाँस काट्न घरबाट निस्केकी घलान दुई दिनसम्म घर नफर्केपछि आफन्त र स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

सिलिङ सामुदायिक वनको भीरमा घाँस काट्ने क्रममा खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त भीर मृतकको घरबाट करिब १ किलोमिटरको दूरीमा पर्छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा चालु आवको ८ महिनामा भीरबाट लडेर ४ महिलासहित ११ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा १३ जना भीरबाट लडेर घाइते भएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
