जनता आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्था मासेर राजतन्त्र फर्काउने पक्षमा छैनन्: वर्षमान पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।
रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन शुक्रबार उद्घाटन गर्दै पुनले वंश परम्परामा आधारित राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताए ।

जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा अमुक कुलमा जन्मिएकै आधारमा शासक हुने व्यवस्थाको पक्षमा कोही नरहेको पुनको भनाइ थियो ।
‘केही राजावादीहरु सडकमा अढाई सय वर्षसम्म वंश पराम्परामा चलेको राजतन्त्र ल्याउने कुरा गर्दै हिंडेको सुन्दा अचम्म लाग्छ’, पुनले भने, ‘आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा जनता छैनन् । गणतन्त्र भनेको पाँच वर्षका लागि राष्ट्रपति चुन्ने र मन नपरे फेरि अर्को ल्याउने प्रजातान्त्रिक व्यवस्था हो । राजतन्त्र ल्याउने कुरा गरेर राजावादीहरुले रमाइलो गरिरहेका छन् ।’
सामन्ती एकाधिकारवादी राजतन्त्र र विचार, आस्था र उद्देश्यविहीन लोकप्रियतावादीहरुको नेपालमा राजनीतिक भविष्य नरहेको पुनले बताए ।
एकात्मक राजतन्त्रात्मक व्यवस्था मुलुकको माटो सुहाउँदो नरहेको निष्कर्षसहित दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको स्मरण उनले गरे । संविधान र कानूनभन्दा माथि अमुक राजा, महाराजा नहुने र जनता नै सबै अधिकारको केन्द्र भएको पुनले स्पष्ट गरे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
