पेस्तोल देखाएर नगद र आइफोन लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

जनकपुरधाम, असार ३२ गते । नेपाल–भारत खुला सीमाबाट हुने अपराधजन्य गतिविधि फेरि एक पटक सुरक्षाका दृष्टिकोणले गम्भीर चिन्ताको विषय बनेको छ । हालै मात्र धनुषा प्रहरीले सीमापारिबाट नेपालमा प्रवेश गरी लुटपाट गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्य अन्तर्गत मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेका छन् । असार २० गते जनकनन्दनी गाउँपालिका–१ का अजयकुमार गोइतमाथि पेस्तोल देखाएर लुटपाट गरेको अभियोगमा मुखियालाई नियन्त्रणमा लिइएको हो ।

धनुषा प्रहरीको अनुसन्धानबाट गोइत बैँकमा नगद जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार र १२ लाख १० हजारको चेक तथा आइफोन १६ लुटेको खुलेको छ ।
धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार मुखिया ‘पेशेवर लुटेरा’ हुन् । भारतमा समेत उनीमाथि करिब ९–१० वटा आपराधिक मुद्दा दर्ता छन् । “भारतमा अपराध गरेर नेपाल लुक्ने, नेपालमा अपराध गरेर फेरि भारत भाग्ने जस्ता गतिविधि दोहोरिने क्रम बढ्दो छ, जुन दुवै देशका सुरक्षाका लागि चुनौती बनेको छ,” उहाँले भन्नुभयो ।
स्थानीय बासिन्दाहरूको भनाइमा खुला सीमाका कारण लुटपाट तथा गैर कानुनी गतिविधि नियन्त्रणमा चुनौती बढिरहेको छ । “हामी सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनौँ ।”
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
