सुदूरपश्चिममा रोपेको धान सुक्न थाल्यो, गर्मीले जनजीवन कष्टकर

कैलाली । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ ।
पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् । पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख खाद्यान्न धानबाली सुक्न लागेको जनाउँदै किसान हरिलाल चौधरीले चिन्ता व्यक्त गर्नुभयो ।

“बोरिङ पम्पिङसेटबाट पानी तानेर असार पहिलो हप्तामा नै धान रोपाइँ गरियो,” उनले भने, “दुई हप्तादेखि चाहिने जति वर्षा नहुँदा देखिएको खडेरीले रोपेको धान सुक्न लागेको छ ।”
साउन महिनाको ९ गतेसम्म पनि प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्ण रूपमा सक्रिय हुन सकिरहेको छैन । मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सञ्जय साहले भने, “गएको असार १६ गते धनगढी क्षेत्रमा २१२ दशमलव दुई मिलिमिटर वर्षा मापन भएकामा त्यसयता ठूलो वर्षा हुन सकिरहेको छैन ।”
कार्यालयका प्रमुख साहले जलवायु परिवर्तनको असरका कारण मनसुन पूर्ण रूपमा सक्रिय हुन नसक्ने जस्ता समस्या देखिन थालेको बताए । पर्याप्त पानी अभावमा रोपाइँ गरिएको खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने जोखिम बढेको कृषि प्राविधिकले बताएका छन् ।
जलवायु परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेरी देखिने जस्ता समस्या बढ्न थालेको बताइन्छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
