राजनीति

नेपाली राजनीतिमा विद्यादेवी भण्डारी पुनः उदयको सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालको राजनीतिमा विद्यादेवी भण्डारीको नाम पुनः चर्चामा छ । तीन दशकसम्म, अर्थात् ०५० को दशक यता उहाँको नाम चर्चामा रहेको हो । २०५० साल जेठ ३ गतेका दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि उहाँ चर्चामा आउनुभएको हो ।

मदन भण्डारीको निधनपछि काठमाडौंमा भएको उपनिर्वाचनमा विजयी भएपछि उहाँले राजनीतिको भारी विसाउनुभएको छैन । प्रजातन्त्र आएपछि पहिलोपटक, अर्थात् २०४८ सालमा भएको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई मदन भण्डारीले पराजित गर्नुभएको थियो । भट्टराई त्यतिबेला प्रधानमन्त्रीको भूमिकामा हुनुहुन्थ्यो ।

बिज्ञापन

प्रधानमन्त्रीको रूपमा रहेको नेपाली कांग्रेसका तत्कालीन कार्यवहाक सभापतिलाई पराजित गरेका कारण मदन भण्डारीको चर्चा चुलिएको थियो । मदनको निधनपछि त्यो स्थानमा कसलाई उठाउने भन्नेबारे तत्कालीन अवस्थामा बहस छलफल भएको थियो । विद्या भण्डारी राजनीतिक व्यक्ति भएका कारण नै पार्टीले उहाँलाई उमेदवार बनाउने निर्णय गरेको थियो । यदि एमालेले त्यतिबेला विद्यालाई उमेदवार बनाउने निर्णय नगरेको भए उहाँको राजनीतिक यात्रा यहाँसम्म आउने थिएन होला । राजनीतिक यात्रा यहाँसम्म आउनुमा उहाँको त्यो जीत महत्वपूर्ण कारक थियो ।

यो तीन दशक विद्यादेवी नेपाली राजनीतिमा चर्चामा नै हुनुहुन्छ । राष्ट्रपतिका रूपमा उहाँको कार्यकाल दुई पटक रह्यो । अवधिका हिसावले सात वर्ष थियो । दुई कार्यकाल राष्ट्रपति भएको व्यक्ति पुनः राजनीतिमा आउने कुरा गरेपछि सबैभन्दा बढी विवाद एमालेमा भएको छ । जुन पार्टीले निर्णय गरेर उहाँलाई राष्ट्रपतिका लागि पठाएको थियो, त्यही पार्टीमा उहाँका बारेमा विवाद हुनु स्वाभाविक कुरा होइन । अहिले जुनखालको आरोप, प्रत्यारोप गर्ने काम भइरहेको छ, यो परिपक्व राजनीति गर्नेका लागि सुहाउने कुरा होइन ।नेपाली राजनीतिमा विद्या भण्डारीको आवश्यकता छ वा छैन ? भन्नेबारे बहस छलफल अर्को कुरा होला । राष्ट्रपति भएको व्यक्ति पुनः सक्रिय राजनीतिमा आउन मिल्छ कि मिल्दैन ? भन्ने बहससमेत हामीकहाँ सही तरिकाले चलेको छैन । कसैलाई पनि राष्ट्रपतिका रूपमा पठाउँदा फर्किपछि पुनः सक्रिय राजनीति गर्न पाइँदैन भन्ने कुरा नगरिएका कारण पुनः राजनीतिमा आउने इच्छा पलाएको हुनसक्छ । यो विषयमा समेत बहस छलफल आवश्यक छ ।

अहिले एमालेका एकथरि कार्यकर्ताले समेत विद्या भण्डारीलाई धारे हात लगाउन खोजिरहेका छन् । सर्वोच्च पदमा पुगेर पनि पार्टीमा भाग खोजेको, पुनः राजनीति गर्न खोजेर आफ्नो ओज घटाएकोजस्ता आरोप लगाइरहेका छन् । नेपाली राजनीतिमा सक्रिय भएर विद्या भण्डारीले जुन योगदान दिनुभयो, त्यसलाई तुच्छ ठान्ने काम यतिबेला एमालेजनले गरिरहेका छन् । कुनै व्यक्तिको आलोचना कुन तहमा गर्ने भन्ने सामान्य हेक्कासमेत नराखेर गाली गलौजको तरिकामा उत्रनु पार्टी नेतृत्वको कमाण्डमा छैन, अथवा जनवादी केन्द्रीयता छैन भन्ने स्पष्ट देखिन्छ ।

कसको आलोचना कसरी गर्ने ? कुनै विषयमा आलोचना गर्ने कि जुनसुकै विषयमा आलोचना गर्ने ? यो विषयमा सामान्य हेक्कासमेत नराखेर कार्यकर्ता उछलकुद गरिरहेको देख्दा एमालेमा अपरिपक्वहरूको राम्रै जमात तयार भइसकेको रहेछ भन्ने देखिन्छ ।

केन्द्रीय कमिटीले गरेको निर्णय पालना गरेर जानुपर्छ, यो सबैलाई थाहा छ । केन्द्रीय कमिटीको निर्णयलाई काट्नुपर्‍यो भने विधान महाधिवेशनले सक्छ । अथवा, राष्ट्रिय महाधिवेशनले काट्नसक्छ ।

आज म एमालेको विधानमा कुनै बेला लेखिएको ७० वर्षे उमेर हद हटाउनुपर्छ वा राखिरहनुपर्छ भन्ने बारेमा बहस गर्न थालिरहेको छैन । अथवा, कार्यकारी पदमा दुई पटक भन्दा बढीपटक जानुहुँदैन भन्ने बारेमा लेखिएको कुरालाई पनि परिमार्जन गरिएको भन्ने आइरहेकाले त्यो विषयमा पनि धेरै छलफल चलाउनुपर्छ भन्ने पक्षमा रहेको छैन । यो विषय महाधिवेशनमा छलफल होलान् । त्यहाँ निर्णय होलान् । आवश्यताका आधारमा राख्ने र हटाउने विषय होलान् भन्ने लाग्छ ।

हाम्रो उत्तरी छिमेकी चीनमा राष्ट्रपति तेस्रो कार्यकालमा हुनुहुन्छ । भारतमा पनि प्रधानमन्त्री दोस्रो कार्यकालका लागि हुनुहुन्छ । हामीले संविधानमा कुनै व्यक्ति दुईपटक भन्दा बढी पटक प्रधानमन्त्री हुन पाउँदैन भन्ने लेखेको भए विषय अर्को हुन्थ्यो । राष्ट्रपति दुई पटकभन्दा बढी पटक हुन नपाइने भन्ने व्यवस्था संविधानमा लेखिएको कारण आज हामीले चाहेर पनि विद्या भण्डारी र रामवरण यादवलाई पुनः पुरानै भूमिकामा देख्न पाउँदैनौँ । संविधान संशोधन भएको अवस्थामा बेग्लै कुरा हुनसक्छ । आजको दिनसम्म उहाँहरूका लागि कम्तीमा पनि त्यो सुविधा छैन । सक्रिय राजनीतिमा आउने कुराका लागि भने उहाँको बाटो बन्द भएको छैन ।

नेपालको राजनीतिमा विद्यादेवी भण्डारीका कारणले अनेकन उपलब्धि प्राप्त भए । खासगरी महिला अधिकारको सवालमा धेरै उपलव्धी हासिल भए । पहिलोपटक २०५० सालमा भएको उपनिर्वाचन, त्यसपछि २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा जीत हासिल गरेपछि विद्या भण्डारी राजनीतिमा अघि बढ्दै जानुभयो । उहाँ नेकपा (एमाले) को महिला संघको अध्यक्ष भएपछि महिलाका पक्षमा अनेकन अभियान चलाएको र ती अभियानको बलले नेपाली महिलाले अधिकार पाएको देखिन्छ ।

एउटा व्यक्तिले पहल गर्दा नीतिगत रूपमा परिवर्तन हुनसक्छ भन्ने उदाहरण विद्यादेवी भण्डारीलाई लिन सकिन्छ । विशेषतः महिलालाई राजनीतिक मूलप्रवाहमा ल्याउने उहाँको योगदानको महत्वपूर्ण पाटो हो । नेपालको राजनीतिमा महिलाको सशक्तीकरण र राजनीतिक मूलप्रवाहमा सहभागी गराउने सन्दर्भमा विद्यादेवी भण्डारीको नाम उच्च आदरका साथ स्मरण गर्नैपर्दछ ।

नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भई उहाँले लामो समयसम्म महिलाको हक, अधिकार, प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभयो । व्यक्तिगत संघर्ष, सांगठानिक यात्रा र संवैधानिक भूमिकाले नेपाली महिलालाई राजनीतिक चेतना र नेतृत्वमा प्रेरितमात्र गरेन, सामाजिक सोचाईमा पनि परिवर्तन ल्याएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।