हत्या आरोपी आमा निर्दाेष ठहर

मोरङ । नवजात शिशुको हत्या आरोपमा गोग्राह अदालतमा मुद्धाको बहश भइरहेको हुन्छ । जहाँ सरकारी वकिलहरुले नवजात शिशुकी आमाले परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मेको बच्चा भनेर जन्मनासाथ हत्या गरेको दलिल र सक्दो प्रमाण पेश गरिरहेका हुन्छन ।
पालो आउनासाथ प्रतिवादी अर्थात आरोपी महिलाका पक्षधर वकिलहरुले आफ्ना प्रमाण पेश गर्दै आरोपित महिला निर्दोष रहेको दावी गर्छन् । उनीहरुको दावीमा न्याय मूर्ति अर्थात न्यायाधीशहरुले बेला–बेला प्रश्न गर्छन । तपाईको दावीको तथ्य के हो ? त्यसको जवाफ पैरवी गरिरहेका वकिलहरुले दिने प्रयास गर्छन ।

वादी–प्रतिवादीको बहस चलिरहँदा न्यायालय पुगेका सरोकारवाला वादी प्रतिवादीका पक्षधर र कानुनका विद्यार्थी स्तब्ध हुन्छन् । फैसला कसको पक्षमा आउने हो ? सबै अनुत्तरित र जिज्ञासु भएर बसेका छन् । बहस ३ घण्टा २० मिनेट चल्छ । जहाँ वादीका तर्फबाट ४ र प्रतिवादीका तर्फबाट ४ जनाले बहस गर्छन् ।
अन्ततः फैसला प्रतिवादीको पक्षमा आउँछ । यो फैसलाले भने पीडितलाई राहत दिएको हैन कि अभ्यास अदालतमा उत्कृष्ट प्रस्तुति गर्नेका पक्षमा न्याय गरेको हो । विराटनगर उच्च अदालतका न्यायाधिश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी न्यायाधीश बनेर निर्णायकको भूमिका रहेको मूट कोर्टको नतिजा हो । जहाँ विभिन्न चरण पार गरेर फाइनल स्पर्धामा उत्रिएका दुई समूहबीचको प्रतिस्पर्धा थियो ।
विराटनगर– ५ स्थित ब्राइट भिजन ल क्याम्पसले आयोजना गरेको प्रथम मूट कोर्ट प्रतियोगिताको फाइनल स्पर्धामा बुधबार विभिन्न १८ वटा समूहबाट विभिन्न चरण पार गर्दै आएका दुई समूह थिए । जहाँ उनीहरुले व्यवहारिक रुपमा आफूलाई अब्बल सावित गर्नुपर्ने थियो । त्यस प्रतिस्पर्धालाई नजिकबाट नियाल्न उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईसहित न्याय क्षेत्रका हस्तीहरुको उपस्थिति थियो ।
विद्यार्थीहरूमा न्यायिक प्रकृया, तर्क गर्ने क्षमता र कानूनको व्यवहारिक ज्ञान दिलाउने लक्ष्य लिएर प्रतियोगिता आयोजना गरिएको ब्राइट भिजन ल क्याम्पसका प्रिन्सिपल रहेका कोशी प्रदेशका पूर्व मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले बताए । उनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानले मात्र पूर्णता नहुने ठहर गरेरै ब्यवहारिक रुपमा वास्तविकता झल्किने गरि अभ्यास अदालतको कार्यक्रम राखिएको बताए ।
प्रतियोगितामा पहिलो चरणमा १८ समूहले भाग लिएका थिए । त्यसबाट छनौट भएका ८ समूहले दोस्रो चरणमा प्रतिष्पर्धा गरे । त्यसबाट ४ समूह सेमिफाइनलमा पुगेको थियो भने त्यहाँबाट छनौट भएको दुई समूहको फाइनल भएको हो ।
फाइनल स्पर्धाबाट प्रतिवादीको पक्षमा बहस गर्ने लोकेश धाडेवा, आकृति खनाल, र मनिष सिग्देलको समूहले प्रथम स्थान हासिल गर्दै ‘मेमोरियल पुरस्कार’ प्राप्त ग-यो । दितीय अर्थात फस्ट रनर अपको उपाधि वादीको पक्षमा बहस गर्ने रञ्जना घिमिरे, कृतिका भट्टराई, अनुशा आचार्य, र अमृता कटवालको समूहले प्राप्त गर्यो ।
यस्तै अविशा निरौला, प्रशान्त ढकाल र आयुषा राई तथा परिष्कृत सापकोटाको समूह तेस्रो भयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । वेस्ट स्पिकरको उपाधी अविशा निरौलाले प्राप्त गरिन् ।
मोफसलकै पहिलो कानुन अध्यापन गराउने कलेजका रुपमा स्थापित यस कलेजले १४ औं ब्याच उत्तिर्ण गराइसकेको छ । जहाँ हाल करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको कलेज प्रशासनले जानकारी दिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
