कक्षा १२ को नतिजामा सुधार, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

अंग्रेजीमा सबैभन्दा धेरै अनुत्तीर्ण, बागमती प्रदेशमा छात्रा धेरै उत्तीर्ण, अन्यमा छात्र
कक्षा १२ को परीक्षामा नियमिततर्फका ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्र्ण (ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार ३८.८३ प्रतिशत (१ लाख ५३ हजार ८८२) जना विद्यार्थी अनुतीर्ण (नन्ग्रेडेड) भएका छन् । २१ देखि २९वैशाखसम्म सञ्चालित परीक्षामा नियमित र आंशिक गरी पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी थिए ।
नियमिततर्फ तीन लाख ९६ हजार ३४७ हजार विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ४६५ विद्यार्थी (६१.१७ प्रतिशत) उत्तीर्ण भएका हुन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकोमा ४१ हजार ८४० (३६.४९ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यद्यपि, गत वर्षभन्दा ९ प्रतिशतले नतिजा बढेको छ । गत वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

सार्वजनिक नतिजाअनुसार अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण छन् । ६६ हजारभन्दा धेरै विद्यार्थी अंग्रेजीमा अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार माथिल्लो जिपिए ३.६१ देखि ४ ल्याउने १३ हजार ५०२ जना छन् । यस्तै, जिपिए ३.२१देखि ३.६० ल्याउने ५५ हजार ८९६ छन् भने जिपिए २.८१ देखि ३.२० सम्म ल्याउने ९४ हजार २६८ छन् ।
जिपिए २.४१ देखि २.८० ल्याउने विद्यार्थी ६९ हजार ८१२ जना छन् । तल्लो तहको जिपिए २.०१ देखि २.४० ल्याउने आठ हजार ९६४ र जिपिए १.६१ देखि २.०० ल्याउने विद्यार्थी २३ जना छन् ।
यसकारण सुध्रियो नतिजा, पढाइमा प्रश्न यथावत्
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नतिजा सुधार हुनुमा स्थानीय सरकार, विद्यालय, अभिभावक, विद्यार्थीलगायतको महत्वपूर्ण भूमिका छ । विद्यार्थीलाई परीक्षाका सम्भावित प्रश्नबारे बढी अभ्यास गराइको र एक हजार तीन सय शिक्षकलाई प्रश्नपत्र निर्माणसम्बन्धी तालिमसमेत दिएको उनको भनाइ छ । ‘सबैभन्दा बढी त विद्यार्थीले पढ्ने वातावरण तय गरे, पालिकाहरूले पनि मिहिनेत गरेका छन्, परीक्षाका तरिकामा पनि केही फरकपना आयो,’ शर्माले भने, ‘०७८ देखि लागू भएको नयाँ पाठ्यक्रम र नयाँ प्रश्नपत्रको मोडालिटीमा विद्यार्थी अभ्यस्त हुँदै गए । साथै, प्रश्नपत्र निर्माणमा पनि धेरै परिवर्तन भएको छ ।’
शिक्षाविद् विद्यानाथ कोइरालाले नतिजा सुधार भए पनि पढाइको व्यावहारिकतामाथि प्रश्न उठाएका छन् । ‘अंकमा नतिजा सुध्रियो, तर हाम्रो परीक्षा प्रणाली व्यवस्थित भएन, सीपमूलक र उपयोगी भएन, अब उत्तीर्ण विद्यार्थी बाहिर जाने लाइन लाग्ने त होलान्,’ उनले भने, ‘यहाँ कक्षा १२ पास गरेर विदेश पढ्न जाँदा विद्यार्थीलाई अप्ठ्यारो पर्ने किसिमको हाम्रो शिक्षा व्यवस्था छ, पढेर विद्यार्थीले आफूलाई निर्भर बनाउन सक्दैन ।’ उनका अनुसार पास भएका विषयमा पनि सबै विद्यार्थीको सबै विषयमा राम्रो नतिजा देखिँदैन । त्यसकारण शिक्षण सिकाइमै सुधार हुनुपर्र्छ र सरकारका सबै निकायले यसमा गम्भीर भएर छलफल गर्न जरुरी छ ।
बोर्डको नतिजाअनुसार अंग्रेजीपछि अकाउन्ट र सामाजिक विषयमा पनि धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार अंग्रेजीमा ६६ हजार २७५ जना अनुत्तीर्ण भएका छन् । सामाजिक अध्ययनमा ३३ हजार ९२१ विद्यार्थी नन्ग्रेडेड छन् । अकाउन्टमा ४१ हजार ३६३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस्तै, अनिवार्य नेपालीमा २८ हजार ३५६ विद्यार्थी नन्ग्रेडेड छन् ।
कक्षा १२ पछि विदेश जाने लहर बढ्दै जाँदा विश्वविद्यालयका अधिकांश कार्यक्रममा शैक्षिक असर परिरहेका छ । यस्तोवेला कम विद्यार्थी पास हुँदा झन् असर पर्ने देखिन्छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा बोर्ड, एनओसी कार्यालयलगायतको तथ्यांकअनुसार पछिल्ला केही वर्षमा कक्षा १२ मा उत्तीर्ण आधा विद्यार्थी नेपालका विश्वविद्यालयमा पढ्न जाँदैनन् । उनीहरूमध्ये धेरैजसो रोजगारी वा वैदेशिक अध्ययनका लागि बाहिर जाने गरेका छन् । कक्षा १२ मा पास भएका आधा विद्यार्थीमात्रै उच्च शिक्षामा भर्ना हुने र त्यो संख्याले नेपालका विश्वविद्यालयका सबै कार्यक्रमका कोटाअनुसारको विद्यार्थी पूर्ति हुँदैनन् ।
कोशी प्रदेश १२ हजार ३७४ छात्रा र १२ हजार ६०४ छात्रले एनजी ल्याएका छन् । गण्डकी प्रदेशमा चार हजार आठ सय छात्रा र पाँच हजार ३०३ छात्र अनुत्तीर्ण छन् । मधेश प्रदेशमा अनुत्तीर्ण हुने छात्रा संख्या ११ हजार ७७२ र छात्र संख्या ११ हजार ५५९ रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा अनुत्तीर्ण हुनेमध्ये छात्रा १४ हजार ९०२ छात्र १४ हजार ४२० रहेका छन् ।
बागमती प्रदेशमा भने अनुत्तीर्ण हुनेमध्ये छात्रको संख्या बढी छ । जसमा २० हजार १०७ छात्र अनुत्तीर्ण छन् भने १६ हजार ७५८ छात्रा अनुत्तीर्ण भएका छन्् । यस्तै, कर्णाली प्रदेशमा अनुत्तीर्ण छात्रा संख्या ६ हजार ६१० रहेको छ भने अनुत्तीर्ण छात्र संख्या ६ हजार ७९ रहेको छ । सुदूरपश्चिम प्रदेशमा पनि अनुत्तीर्ण हुने बढी छात्रा छन् । जसमा ९ हजार १४९ जना छात्रा अनुत्तीर्ण भएका छन् भने ७ हजार ४५८ छात्र अनुत्तीर्ण छन् ।
माथिल्लो जिपिए ल्याउने कुन प्रदेशमा कति ?
सुदूर पश्चिममा जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थी संख्या २५१ रहेको छ । त्यस्तै, कर्णालीबाट सोही जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या ७० जना रहेको छ । बागमती प्रदेशबाट जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थी संख्या ८ हजार ६८५ छ । मधेश प्रदेशमा जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थी संख्या ४०३, लुम्बिनीबाट सोही जिपिए ल्याउने एक हजार ५४३ रहेको छ । कोशी प्रदेशबाट जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थी संख्या एक हजार ३९९ र गण्डकी प्र्रदेशबाट एक हजार १५१ जनाले माथिल्लो जिपिए ३.६१ देखि ४ ल्याएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
