‘अवैध प्रेमी’ को ब्ल्याकमेलले निमोठियो एक जीवन

हेटौंडा । गत साउन ९ गते हेटौंडा–८, कमानेकी एक युवतीले विष खाइन् । उनले झार मार्ने विष सेवन गरेकाे पछि खुल्याे ।

विषले खानेवित्तिकै राम्ररी काम गरेन । तर विस्तारै विष शरीरभरि फैलियो । तीन दिनपछि अति नै पेट दुख्यो । अनि उनले आफ्नो एकजना साथीलाई यस्ताे विवरण सुनाइन्–

‘एकजनाले मलाई तिम्राे र मेराे भिडियो बाहिर ल्याइदिन्छु भनेर फेसबुकमा धम्काएको छ । मर्नु न बाँच्नु भयाे । यही झोकमा मैले विष खाएँ । पेट पोलिरहेकाे छ ।’

यस्तो गम्भीर प्रकृतिको घटनालाई पनि उनका साथीले भने सामान्य लिए । सायद विष खाएकाे कुरा पत्यार लागेन उनलाई ।
तीन दिनपछि विष पिउने युवती, उनै धम्क्याउने पुरुष र युवतीका भाइ चितवनस्थित अस्पताल पुगे । अस्पतालमा चिकित्सकले भने, ‘यस्तो कुरा लुकाएर किन राख्नु भयो ? तपाईंले विषय पिउनु भएको छ र विषले तपाईंको फोक्सोबाहेक सबैतिर असर गरेकाले अब कुनै उपचार छैन ।’
युवतीका भाइले दिदीसँग विलाैना गरे, ‘तिमीले यो के गर्याै दिदी ? के पुगेको थिएन ? कसले के तनाव दियो र यसो गर्यौ ?’
दिदीले भनिन्, ‘यो सबै यही सुरज कार्कीका कारण भएको हो । यसले सपना भन्ने फेसबुक आइडीबाट मलाई ब्ल्याकमेल गर्यो । भिडियो बाहिर ल्याइदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ पनि खायो । यसका कारण म जीवनमरणको दोसाँधमा पुगेर विष खाएँ ।’
पीडितका भाइले त्यहीँ सुरजलाई तत्कालै दुई–तीन चड्कन लगाए । यो अकल्पनीय, अक्षम्य अपराध थियो । मृतक युवती विवाहित हुन् । एक हिसाबले उनीहरु हाडनातासम्म जोडिएका नातेदार थिए । अस्पतालबाट भागेका सुरज अहिलेसम्म फरार छन् ।
‘उनको मोबाइल अफ देखिएको छ, ह्वाट्स एप प्रयोग गरेको छ कि भनेर खोजिरहेका छौँ, अनुसन्धान जारी छ’, आइतबार साँझ मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले भने, ‘कति दिन भाग्लान् र, हामी नजिक नजिक पुगिसकेका छौँ ।’
बुधबार युवतीको मृत्यु भएर बिहीबार पोस्टमार्टम भइसक्दा पनि परिवारले जलाउन मानेका थिएनन् । पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने प्रहरीले प्रतिवद्धता जनाएपछि आइतबार खड्काको दाहसंस्कार भएको छ ।
नातामै रहेका महिलासँग सम्बन्ध राखेर आफैँले फेसबुक आइडी खोलेर धम्काउने, पैसा लिने र विष खाएपछि ‘केही हुन्न’ भनेर अस्पताल लैजाने हेटौँडा–८, कमानेकै ४४ वर्षीय सुरज कार्की हुन् । कमानेका निर्माण व्यवसायी हेटौँडा सानोपोखरा चोकमा अहिलेका बागमतीका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घर अगाडि बसिरहेको देखिन्थे ।
ससाना पेटी ठेक्काको काम गर्ने सुरजले ती युवतीलाई बानियाँकै ‘बानियाँ निर्माण सेवा’ मा सामान्य जागिर पनि लगाइदिएका थिए । जहाँ उनले काम गर्थिन्, त्यही कम्पनीका संस्थापक मालिक बानियाँ मुख्यमन्त्री हुँदै थिए । तर उनका लागि त्यही जागिर मृत्युको कारण बन्यो । जागिर लगाइदिएपछि नै कार्कीले युवतीलाई अरु तनाव दिँदै ब्ल्याकमेल गरेका थिए ।
चितवनको अस्पतालले नै ‘अब स्वास्थ्य सुध्रन सक्दैन, बाँचुन्जेल घरमै राख्नू’ भनेपछि युवतीलाई हेटौंडा ल्याइयो । चुरे हिल हस्पिटलमा राखियो । घटनाको १३ दिनपछि गत बुधबार राति करिब ११ बजे उनको मृत्यु भयो । पीडित पक्षले बुधबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
आरोपीको घरमा प्रहरीको सुरक्षा
हेटौंडा–८ कमानेमा आक्रोशित स्थानीयले कार्कीको घर नै जलाउने तयारी गरेपछि प्रहरी कार्यालयले चार जना प्रहरी घरमा पहरा दिन राख्नु पर्यो । अरु केही युवतीले पनि आफूहरुलाई पनि कार्कीले आकर्षित गर्न खोजेको भनेर सुनाएका छन् ।
तर प्रहरीमा थप उजुरी नपरिसकेको प्रहरी उपरीक्षक खड्काले बताए । अनुसन्धानमा ‘सपना’ नामको फेसबुक आइडीबाट महिलालाई ब्ल्याकमेल भएको पाइएको छ । आइडी कार्कीले नै चलाउने गरेको खुलेको छ ।
मृतकका पति सवारी चालक हुन् । ‘तेरो लाेग्नेले गाडी बेचेको पैसा चाहियो’ भन्दै कार्कीले ब्लाकमेल गरेका थिए । कार्कीकाे परिवार अहिले टोलछिमेकमा लगभग बहिस्कृत भएको छ ।


