व्याक्ती बिशेष

धनगढी–पलिया हुँदै पुनासम्मको चार दिनको बसयात्रा : खुशी, संघर्ष र सम्झनाको कथा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिपा भण्डारी: भारतको दोस्रो यात्रामा निस्केको दिन भदौको ५ गते दिउँसो ठिक ५ बजे धनगढी बसपार्कमा बाक्लो भीड देखिन्थ्यो। सहरको मध्य भागमा अवस्थित बसपार्क यात्रुहरूको चहलपहलले भरिएको थियो। कोही गाउँ फर्किने, कोही किनमेलको उद्देश्यले निस्किएका, कतिपय कामको सिलसिलामा हतारिएका अनुहारहरू देखिन्थे। तर सबैको नजर आफ्ना–आफ्नै गन्तव्यतर्फ थियो।

त्यही भिडभाडबीच पलीयातर्फ जाने बस छुट्ने तयारीमा थियो। टिकट काटेर सिटमा बसेपछि यात्राको दोस्रो अनुभवलाई मनमा सजाउने उत्सुकता निकै बढेको थियो। बस ठिक ५:१५ बजे सुस्त गतिमा बसअड्डाबाट बाहिर प्रस्थान गर्‍यो।
धनगढी बसपार्कदेखि करिब १० मिनेटमै भारतको सिमाना जोडिएको गौरीफन्टा नाका पुगियो। त्यसपछि सबैजना बसबाट ओर्लिएर लाइनमा लाग्दै आ–आफ्ना कागजात देखाउँदै नाका पार गर्दै थिए। म पनि त्यही भीडमा लाइनमा लाग्दै कागजात देखाउँदै गर्दा कतिपय परिचित अनुहारहरूले “कहाँसम्म हो?”, “कहिले फर्किने?”, “किन जाने?” जस्ता संवाद गरिरहेका थिए।

बिज्ञापन

गौरीफन्टा नाका पार गरेर अलि अगाडि जाँदा फेरि एउटा सार्वजनिक बसभित्रबाट आवाज आयो— “पलिया, पुना, मुम्बई, दिल्ली, गुजरात, राजस्थान।” यही शब्दहरूले एउटै लाइनमा सीमा पार गरेका धेरै अनुहारहरूलाई उक्त बसतर्फ डोर्‍यायो।

अरूसँगै म पनि बसभित्र पसेँ, सिटमा बसेँ र एकैछिनमा   मन भारी भयो। मनभित्र देशको माया झल्किन थाल्यो। त्यो भाव मेरो मात्र नभई धेरै नेपाली यात्रुहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो। म केही दिनमै फर्किने भएकाले सिमाना पार गर्दा नै मन दुख्यो, आँखा रसाए भने जन्मभूमि छोडेर कर्मभूमिलाई सपनाको सहर बनाउन लागेका यात्रुको मनमा के बित्दो होला?

गौरीफन्टा नाकाबाट पलिया जाँदै गर्दा साँझको आकाशमा घाम डुबिसकेको थियो। वातावरण अलिक धमिलो देखिन्थ्यो भने सडक छेउछाउका पसलहरू बत्तीले चम्किन थालेका थिए। सडकमा मोटरसाइकल र अटोको आवाजले साँझको शहर अझै जीवित देखिन्थ्यो।

बस गुड्दैगर्दा  भारतीय सीमावर्ती बजार ‘बनगाउँ’ को दृश्य आँखामा पर्‍यो। यो बजार देखेपछि पहिले दुई–तीन पटक पुगेको सम्झनाले मलाई चिमोट्यो। मेरो मनमा बनगाउँ बजार आउँदाको याद केहीबेर समाहित भयो।
अलि अगाडि पुगेपछि दोस्रो पटक हुन लागेको मेरो भारत यात्राले मनमा कौतुहलता ल्यायो। विदेशको यो लामो यात्राको क्रममा मेरो मनमा आमाबुवालाई भेट्ने इच्छा , साथी–आफन्तलाई देख्ने रहरले भरिएको थियो। म खुशीले पुलकित हुन थाले।

बसमा यात्रा गर्दै थिएँ लगभग दुई घण्टासम्म मेरो मनमा नेपाल–भारत सीमा क्षेत्रको भीड, सामान बोकेर फर्किनेहरू, साना बालबालिका अँगालोमा बोकेर भारत पस्ने परिवारहरू, सीमा वारपार गर्दा नेपाली मजदुरले भोग्नुपरेको झन्झट सम्झिन थाले।

बस पलियातर्फ बढ्दै थियो बाहिर अन्धकार गहिरिँदै थियो। सडक छेउछाउका पसलमा बत्ती झलमल थिए। कतै चिया पसलमा यात्रुहरूको भीड, कतै होटलमा नास्ता गर्नेहरूको जमघट देखिन्थ्यो। बसभित्र भने यात्रुहरूबीच परिचय आदानप्रदान भइरहेको थियो। कोही आमाबुवा भेट्न जाँदै गरेको कुरा सुनाउथे, कोही काम खोज्दै भारत पस्ने बाध्यता सुनाउथे। प्रत्येक व्यक्तिको यात्राले आफ्नै कथा बोकेको थियो।

पलियाबाट मध्यरातको यात्रा

बस बेलुकी ठिक ७:३५ बजे पलिया पुग्यो। सबै यात्रुहरूको अनुहारमा हल्का थकान भए पनि सकुशल पलिया पुगिएकोमा सन्तुष्टि स्पष्ट देखिन्थ्यो। धनगढीबाट सुरु भएको दुई घण्टाभन्दा बढी समयको बसयात्रा, मेरो दोस्रो भारत भ्रमणको पहिलो पडाव थियो।

पलिय पुग्दा गन्तव्यतर्फ लागेका मानिसहरू रातको अन्धकारलाई बेवास्ता गर्दै बसपार्कमा जम्मा भएका थिए। हरेकको आफ्नै कथा थियो— कोही घर फर्कने हतारमा, कोही रोजगारी खोज्दै, कोही अध्ययन वा उपचारका लागि लामो यात्रा गर्न बाध्य।

बसपार्कमा उभिएका ठूलो साइजका रात्री बसहरूको झिलिमिलीले बसपार्क सानो मेलाजस्तै देखिन्थ्यो। करिब सय यात्रु एउटै बसमा अट्ने गरी यात्रुहरूलाई चढाउने तयारी भइरहेको थियो। राजस्थान, गुजरात, मुम्बई, पुना जस्ता गन्तव्यका नाम पालैपालो उच्चारण हुँदै यात्रुलाई सिटमा बसाउने काम भइरहेको थियो। आफ्नो नाम सुन्न यात्रुहरू आतुर देखिन्थे। सिटमा बस्नेको अनुहारमा सहजता, अलिक थकान र केही गुनासो झल्किन्थ्यो।

घण्टौँको लामो यात्राको तयारी गर्दै कसैले पानीको बोतल, फलफूल, चाउचाउ, बिस्कुटजस्ता खानेकुरा बोकेका थिए। सबै यात्रु सिटमा बसेपछि बस एकैछिनमा भरियो र गन्तव्यका लागि विस्तारै अगाडि बढ्न थाल्यो।

चार दिनको बसयात्रा : रोमाञ्चकता संघर्ष र चुनौती 

पलियामा बसको सिटमा बस्दा लागिरहेको थियो— अबको तीन दिनमै भारतको पुना पुग्छु। जहाँ आमाबाबु र सम्पूर्ण आफन्तलाई एकैसाथ भेट्नेछु। यही सोचले मनभित्र असीम उत्साह जगाएको थियो। त्यसैले यात्राको अप्ठ्यारो, थकान र असहजता त्यति महसुस भएन। किनकि हरेक मिनेटमा मेरो गन्तव्य नजिकिँदैछ भन्ने खुसीको आयतन बढिरहेको हुन्थ्यो।

तर मनको यात्रा जस्तो वास्तविक यात्रा कहाँ हुन्छ र? सोचे जस्तै सजिलो केही पनि हुन्न! बस गुड्दैछ तर बाटो छोटिन्न झनझन लामो पो हुँदै गयो। हामीलाई गन्तव्य पुग्न ढिला हुँदै गयो। तीन दिनमै आमाबा छेउ पुग्ने सपना चार दिनसम्म तन्कियो। अनि ती चार दिन एउटै बसभित्र बसरे यात्रा गर्नु कति पीडादायी हुन्छ कल्पना गर्नुस् त!

यात्राभर बसका हरेक सहयात्रीहरूको आफ्नै पीडा थियो। एक आमा मेरो छेउमै बसेकी थिइन्। लामो समय पुनामा श्रम गरेर नेपालमा कागजात मिलाउन आएकी रहिछन्। उनी फेरि पुना फर्कदै थिइन्। उनको अनुहारमा थकान देखिन्थ्यो तर उनको मन उत्सुकताले दौडिरहेको स्पष्ट भाव उनको आँखामा झल्किन्थ्यो।

छेउको सिटमा दुई जना विद्यार्थी दाजुभाइ थिए। किताब र नोटबुक बोकेका उनीहरू उच्च शिक्षा पढ्ने सपना साँचेर र पुना जाँदै थिए। उनीहरू फलानो- फलानो आफन्त भेट्न जानुपर्छ भन्दै  कुरा गरिरहेका थिए।

अर्का एक जना अधवैसे पुरुष, ३५ वर्षदेखि भारतमा काम गरिरहेका रहेछन्। नेपालमा आफ्नो कागजात मिलाउन आएका रहेछन्। उनी पनि फर्किँदै थिए। भन्दै थिए, “हाम्रो ता जवानी उतै गयो, आब त रामणो पनि उतै पो लाग्न थाल्यो।”

दुई जना सासु–बुहारी, आफ्ना र छोराछोरीको भत्ता नवीकरण गर्न स्वदेश फर्केका रहेछन्। काम फत्ते गरेर फर्किरहेका थिए। म भन्दा अगाडिको सिटमा  एक जना युवक हातमा पुरानो झोला बोकेका थिए। उनको कानमा इयरफोन थियो र बारम्बार फोन गर्दै सम्भवतः आफ्नी जहानसँग कुरा गर्दै सम्झाउँदै थिए— “चिन्ता जन अरै तु, मु चाँडै पुग्न्या हुँ।” तर उनी कहिले फर्किन्छन् भन्ने कुरा भविष्यको गर्भमा थियो।

यात्राभरी कतिपय परिचित, कतिपय अपरिचित अनुहारहरूले नेपालको समसामयिक विषयमा चर्चा गर्थे। उनीहरूले देशको राजनीति, शिक्षा, स्वास्थ्यका विषयमा थरी थरीको टिप्पणी गरिरहेका थिएँ। यसरी यात्रुहरूको संवादले यात्रामा होइन, गाउँको चौतारोमा बसेर कुरा सुन्दैछु भन्ने आभास दिन्थ्यो। बसमा गुन्जिएका ती आवाजहरूले अहिले पनि कानमा साउती गरेजस्तो लाग्दैछ। चार दिन लामो यात्रा, सम्झनाको तरेलीमा अमर पो हुन पुग्यो।

यात्रामा थरीथरीको सडकसँग जम्काभेट हुन्थ्यो। कहिले चिल्लो सडक, कहिले  धुलाम्य, कहिले हिलो, कहिले साँघुरो सडक छिचोल्दै अगाडि बढियो।  कहिले भने अकस्मात बिग्रिएका गाडीले घण्टौँ सडकमा जाम लाग्थ्यो। हामी चढेको गाडी पनि लाइनको पुछारमा रोकिन्थ्यो।

जब गाडीमा इन्धन सकिन्थ्यो, अनि पेट्रोलपम्पमा पट्यारलाग्दो लाइन देखिन्थ्यो। इन्धन भर्न पालो पर्खिएको बस भित्र हामीले पनि कैदी झै चुपचाप बस्नुपर्थ्यो।  यसैबीच कहिले यात्रुबीच वादविवाद हुन्थ्यो। कहिले सहमतिमा पुग्थे। राजनीतिक विषयमा सबैका फरक-फरक मत हुन्थे। अन्तिममा भने सबैले नेपालका नेता खराब भए भन्ने निष्कर्ष निकाल्थे। यी सबै घटनाले यात्रालाई अझ जीवन्त बनाए।

जब रात पर्थ्यो कोही बसभित्र निदाउँथे। कोही ठूलो स्वरमा  कुरा गरेर हल्ला गर्थे। कोही आफ्नै तालमा गीत गुनगुनाउँथे। धेरैजसो एकअर्कासँग अपरिचित भएर पनि केही समयका लागि साथीझैँ भएका थिए। हामीहरूबीच दुःख–सुख साट्ने छोटो मित्रता बसभित्रै जन्मिएको थियो।

चार दिनपछि गन्तव्य पुग्दा शरीर थकित भए पनि मन हर्षले भरिएको थियो। अपरिचित ठाउँमा आफन्त नदेख्दा अलिक आतिए पनि आमाबाबु र आफन्तलाई भेट्ने खुसीले यात्राको सबै पीडा भुलाइदियो।
यो अपरिचित ठाउँको विकास, संस्कार, परिवेश र चालचलनले मलाई नयाँ दृष्टिकोण दिएको छ, जसका लागि म निकै आभारी छु।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।