गगन थापाले भने- गति र मतिअनुसार पार्टी चल्न सकेन, कांग्रेस पुनर्गठन गर्नुपर्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन् । मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए ।
‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरू किन हामीहरूसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो ।’ गति र मतिअनुसार पार्टी चल्न नसकेको उनले बताए ।

कांग्रेसको अनुहारमा दाग लागेको हुँदा ऐना पुछेर नहुने उनले बताए । भिडियो सन्देशमा उनी भन्छन्, ‘सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ । यो घाउलाई पुर्नुपर्दछ ।’
२३ र २४ भदौमा भएका अमानवीय र क्रूर सबै घटनाको छानबिन हुनुपर्ने उनले माग गरे । सभापतिदेखि नेता–कार्यकर्ताहरूलाई आक्रमण भएको थापाले जानकारी गराए । थापाले भने, ‘स्वाभाविक आक्रोशलाई हामीले स्वीकार गर्नुपर्दछ । तर, जहाँ नियतवश भएको छ । ती दण्डनीय छन् । तिनलाई कानुनको दायरामा ल्याउनुपर्दछ ।’ पुनर्निर्माणको अग्रसरता पनि कांग्रेसले लिनुपर्ने महामन्त्री थापाले बताए ।
राष्ट्रपति, पार्टीहरू, आन्दोलनकारीसँग संवाद जारी रहेको उनले बताए । जेन–जीले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन आवश्यक पहल कांग्रेसले गरिरहेको उनले सुनाए । ‘यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौँ । संविधान एकपटक ट्र्याकबाहिर गयो भने फर्काउन सकिँदैन,’ थापाले भने । थापाले आज साँझसम्म सरकार बन्ने विश्वास व्यक्त गरे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
