राजनीति

२१ फागुनको निर्वाचन माओवादीको प्राथमिकतामा : वातावरण बनाउन विघटित संसदमा प्रतिनिधित्व गरेका दलहरूसँग संवाद जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दसैँअघि नै निर्वाचनमा जाने निर्णय लिएको माओवादीले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई उच्च प्राथामिकतामा राख्दै वातावरण बनाउन सक्रिय पहल थालेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको र यसको वातावरण बनाउन पार्टीले संवाद जारी राखेको जानकारी गराएका छन् ।

उनका अनुसार दलहरूबिच संवाद भइरहेको र सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइरहेका छन् । तर, कुन–कुन दलसँग छलफल भइरहेको छ भन्ने उनले स्पष्ट गरेनन् । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले निर्वाचनमार्फत मात्र अहिलेको संविधान र व्यवस्था जोगाउन सकिने बताएका थिए । ती सदस्यका अनुसार निर्वाचनका लागि दलहरूसँग छलफल गरेर वातावरण बनाउनुपर्ने र सरकारलाई सहयोग गरेर जानुपर्नेमा प्रचण्डले जोड दिएका छन् ।

बिज्ञापन

‘हामी घोषित मितिमै निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा छौँ । हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ,’ बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले भने, ‘निर्वाचनबारे अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ । निर्वाचनमार्फत नै अहिलेको संविधान र व्यवस्था जोगाउन सकिन्छ ।’ सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको उनले बताए ।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार निर्वाचनलाई सफल बनाउन माओवादीले संसद्मा रहेका सबै दलहरूसँग छलफल गरिरहेको छ । ‘निर्वाचनलाई सफल पार्नका लागि सकारात्मक वातावरण बनाउन हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेलिरहेको छ । छलफलहरू सकारात्मक छन् र चुनावमा जाने विषयमा करिब–करिब सबै दलबिच सहमति बन्दै छ,’ उनले भने । 

सरकारको तर्फबाट भने हालसम्म निर्वाचनको विषयमा दलहरूसँग ठोस छलफल नभएको उनले बताए । ‘कांग्रेस र एमालेको पनि बैठक बस्दै छ । चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ,’ उनले भने, ‘निर्वाचन गर्ने कुरालाई हाम्रो पार्टीले शीर्ष स्थानमा राखेको छ ।’दसैँअघि बसेको केन्द्रीय समिति बैठकबाटै माओवादीले निर्वाचनमा जाने निर्णय लिएको थियो ।

निर्वाचन तयारीसँगै पार्टीले महाधिवेशनको तयारीलाई पनि अघि बढाएको छ । महाधिवेशनको कार्यविधि तयार गर्ने र आयोजक समिति निश्चित गरेपछि मिति तय गरिने नेताहरूले जनाएका छन् । २३ असोजमा बस्ने सचिवालय बैठकले महाधिवेशनको मिति तय गर्ने तयारी छ । प्रचण्डले महाधिवेशनलाई विचार, संगठन र राजनीतिक कार्यदिशाको पुनरावलोकन गर्ने अवसरका रूपमा लिएको बताए । ‘हामीले नयाँ परिवेशअनुसार पार्टीको विचार, संगठन र कार्यदिशा सबैलाई पुन: व्यवस्थित गर्नुपर्ने चुनौती सामना गरिरहेका छौँ । यो रूपान्तरण र एकताको राम्रो अवसर हो,’ उनले भने । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।