प्रचण्ड-माधवसँग भीम रावल पनि मिसिँदै, एक साता भित्रै एकता गर्ने सहमति

काठमाडौं । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी नेकपामा भीम रावलको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ ।
आज पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

हात्तीवनमा भएको छलफलमा रावलले एकताका लागि राष्ट्रिय स्वाधीनता मुख्य विषय हुने बताएका थिए।
सुरुमा संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग रावलको संवाद भएको थियो । त्यसपछि भानुभक्त जोशी ,शेरबहादुर कुवर र प्रकाश ज्वाला पनि संवादमा बसेका थिए ।उनीहरूले रावललाई अब नेकपाबाटै मूलधारको राजनीतिमा फर्किन आग्रह गरे ।
प्रचण्ड -माधवले भीम रावललाई छिट्टै नेकपामा आउन आग्रह गरेका थिए ।
‘चाडै आउनुहोस्, हामीलाई राम्रो हुन्छ, आन्दोलनलाई पनि राम्रो हुन्छ ’ प्रचण्डले रावललाई आग्रह गर्दै भने ।
‘तपाईँहरूको कुराप्रति म सकारात्मक छु । मेरो साथीहरूसँग कुरा गर्छु’ रावलले जवाफ दिए ।
२ घण्टा बढी भएको संवादपछि अगामी २६ वा २७ गते एकता गर्ने भन्ने विषयमा टुङ्गिएको छ ।
मर्यादाक्रमको विषयमा पूर्व प्रधानमन्त्रीहरू पछि रहेका पूर्वउपप्रधानमन्त्रीहरूसँगै रहने विषयमा छलफल भएको ती नेताले जानकारी दिए ।
‘झलनाथ खनालपछि नारायणकाजी, बामदेवहरूसँगै उहाँको मर्यादाक्रमको विषयमा कुरा भएको छ त्यसमा उहाँले सकारात्मक भएको बताउँदै आफ्ना साथीहरूसँग छलफल गर्ने भन्नु भएको छ’ बैठक लगत्तै ती नेताले नेपाल प्रेसलाई भने ।
करिब ४ बजेदेखि २ घण्टासम्म भएको छलफलमा प्रचण्ड- माधवसँग मिसिन रावल सहमत भएका हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
